काठमाडौं, भदौ २८ । नेपाली कांग्रेसको कार्यसम्पादन समिति बैठकले पार्टीभित्र एकताको सन्देश दिँदै आगामी १५औँ महाधिवेशनमा सहभागी हुन चाहने सबै पक्षलाई स्वागत गर्ने निर्णय गरेको छ ।
बैठकले महाधिवेशनमा सहभागी हुन वा आयोजकका रूपमा सामेल हुन चाहने पार्टीका सबै नेता तथा कार्यकर्तालाई स्वागत गर्ने निर्णय गरेको हो । विशेषगरी पूर्वसभापति शेरबहादुर देउवा पक्षबाट महाधिवेशनमा सहभागी हुन आउने केन्द्रीय सदस्यहरूलाई उहाँहरूको विद्यमान हैसियतअनुसार नै केन्द्रीय सदस्यका रूपमा स्वागत गरी जिम्मेवारी प्रदान गर्ने निर्णय बैठकले गरेको छ ।
पार्टीभित्र देखिएको आन्तरिक मतभेदलाई समाधान गर्दै महाधिवेशनलाई एकताबद्ध र सौहार्दपूर्ण वातावरणमा सम्पन्न गर्ने उद्देश्यले यस्तो निर्णय गरिएको कांग्रेसले जनाएको छ ।
यसैगरी, कार्यसम्पादन समिति बैठकले १५औँ महाधिवेशनको औपचारिक उद्घाटन असोज १६ गते दिउँसो १ बजे काठमाडौंको टुँडिखेलस्थित खुलामञ्चमा भव्य रूपमा गर्ने निर्णय गरेको छ ।
बाढी तथा पहिरोबाट प्रभावित रसुवा, नुवाकोट र धादिङ जिल्लाको अधिवेशनसम्बन्धी समस्या समाधानका लागि सम्बन्धित जिल्लाका सभापति तथा पदाधिकारी, केन्द्रीय निर्वाचन समिति र पार्टी नेतृत्वबीच छलफल गरी आवश्यक निकास निकाल्ने निर्णयसमेत बैठकले गरेको छ ।
बाढीपहिरोका कारण ती जिल्लामा पार्टीका अधिवेशन प्रक्रिया प्रभावित भएकाले स्थानीय अवस्थालाई ध्यानमा राखेर सहमतिका आधारमा समस्या समाधान गर्ने तयारी कांग्रेसले गरेको हो ।
कार्यसम्पादन समितिको पछिल्लो निर्णयलाई कांग्रेसभित्र देखिएको आन्तरिक विवाद समाधान गर्दै सबै पक्षलाई समेटेर १५औँ महाधिवेशन अघि बढाउने प्रयासका रूपमा हेरिएको छ । यसले पार्टीभित्र एकता र सहकार्यको वातावरण निर्माण गर्ने अपेक्षा गरिएको छ ।














प्रतिक्रिया दिनुहोस्