काठमाडौं, भदौ २९ । आज हरितालिका तीज पर्व मनाइँदैछ । भदौ शुक्ल तृतीयाका दिन व्रत बसेर भगवान् शिवको पूजा तथा उपासना गरेमा पारिवारिक सुख, शान्ति र कल्याण प्राप्त हुने धार्मिक विश्वास छ ।
हिजो दर खाएसँगै औपचारिक रूपमा सुरु भएको तीज पर्व भोलि ऋषि पञ्चमी मनाएपछि सम्पन्न हुनेछ । तीजको अवसरमा पशुपतिनाथसहित देशभरका शिव मन्दिरमा सोमबार बिहानैदेखि भक्तजनको भीड लागेको छ ।
हालैको भोटेकोशी बाढीबाट भएको क्षतिको प्रभाव यस वर्षको तीजमा पनि परेको छ । विगतका वर्षको तुलनामा यस वर्ष तीजको उत्सव केही कम देखिएको छ । तीजका अवसरमा सरकारले महिलालाई बिदा दिएको छ ।
दर खाएपछि तीजको व्रत बस्ने परम्परा छ । चिकित्सकहरूले भने व्रत बस्दा आफ्नो स्वास्थ्य अवस्थालाई ध्यान दिन सुझाव दिएका छन् । स्वास्थ्यले साथ दिए मात्र निराहार व्रत बस्न र नसक्नेले पर्याप्त पानी, फलफूल तथा जुस सेवन गर्न चिकित्सकको सुझाव छ ।
निराहार व्रत बस्दा शरीरमा पानीको कमी भई बेहोस हुने जोखिमसमेत हुने चिकित्सकहरूको भनाइ छ । धर्मशास्त्रमा पनि क्षमता र स्वास्थ्यअनुसार निराहार, जलाहार वा फलाहार व्रत बस्न सकिने उल्लेख छ ।
स्वास्थ्य अवस्था कमजोर भएका व्यक्तिले गहुँ वा मकैको रोटी तथा स्याउ, सुन्तला, केराजस्ता फलफूल सेवन गरेर पनि व्रत बस्न सकिने धार्मिक मान्यता छ ।














प्रतिक्रिया दिनुहोस्