जनता टाइम्स

२९ भाद्र २०८३, सोमबार १३:०४

बालबालिकामा गरिने लगानी नै राष्ट्रको सुखद भविष्यका लागि लगानी : प्रधानमन्त्री शाह


काठमाडौं, भदौ २९ । प्रधानमन्त्री बालेन्द्र शाहले बालबालिकाको वर्तमान सुरक्षित र अधिकारसम्पन्न बनाउन सके मात्रै राष्ट्रको समृद्ध भविष्य निर्माण गर्न सकिने बताउनुभएको छ। उहाँले बालबालिकामाथि गरिने लगानीलाई राष्ट्रको सुखद भविष्यका लागि गरिएको लगानीका रूपमा लिनुपर्नेमा जोड दिनुभएको छ।

राष्ट्रिय बाल दिवस–२०८३ का अवसरमा शुभकामना सन्देश जारी गर्नुहुँदै प्रधानमन्त्री शाहले बालबालिकाको अधिकार, संरक्षण र विकासका लागि राज्यका सबै तह र सम्बन्धित पक्षबीच प्रभावकारी समन्वय आवश्यक रहेको बताउनुभएको हो। प्रधानमन्त्री शाहले भन्नुभएको छ, “यस वर्षको नाराले बालबालिकाको वर्तमान सुरक्षित र अधिकारसम्पन्न बनाएर मात्र राष्ट्रको समृद्ध भविष्य निर्माण गर्न सकिन्छ भन्ने गहन सत्यलाई जोड दिएको छ। बालपन सर्वाङ्गीण विकासको आधारशिला भएकाले बालबालिकामा गरिने लगानी वास्तवमा राष्ट्रको सुखद भविष्यका लागि नै लगानी हो।”

उहाँले नेपालले बालअधिकारसम्बन्धी अन्तर्राष्ट्रिय प्रतिबद्धता पूरा गर्दै बालबालिकाको सर्वोत्तम हित, जीवन–बाँच्न पाउने अधिकार तथा विकासको अधिकारलाई प्राथमिकतामा राख्दै आएको उल्लेख गर्नुभएको छ।

प्रधानमन्त्री शाहले बालबालिकाको संवैधानिक तथा कानुनी अधिकारलाई व्यवहारमै अनुभूति हुने गरी कार्यान्वयन गर्नुपर्नेमा जोड दिनुभएको छ। उहाँले त्यसका लागि संघ, प्रदेश र स्थानीय तहबीच प्रभावकारी समन्वय, सहकार्य र उत्तरदायित्व बहन अपरिहार्य रहेको बताउनुभएको छ। “अबको हाम्रो मुख्य प्राथमिकता यी संवैधानिक तथा कानुनी अधिकारहरूलाई प्रत्येक बालबालिकाको दैनिक जीवनमा वास्तविक अनुभूति गराउनु हो,” प्रधानमन्त्री शाहले आफ्नो सन्देशमा भन्नुभएको छ।

उहाँले संघीय सरकारले राष्ट्रिय नीति, कानुनी तथा संस्थागत आधारलाई सुदृढ बनाउँदै सेवा विस्तार गर्नुपर्ने, प्रदेश सरकारले समन्वय र सेवाको विस्तार तथा स्थानीय तहले बालबालिकाको सबैभन्दा नजिकको सरकारका रूपमा जोखिम पहिचान, संरक्षण, सेवा प्रवाह र बालमैत्री वातावरण निर्माणमा प्रभावकारी भूमिका निर्वाह गर्नुपर्ने बताउनुभएको छ।

प्रधानमन्त्री शाहले तीनै तहका सरकारका प्रयासलाई एउटै परिणाममा जोड्न आवश्यक रहेको उल्लेख गर्नुभएको छ। उहाँले बालबालिकाको संरक्षण, विकास र अधिकार सुनिश्चित गर्न राज्यका संयन्त्रसँगै अभिभावक, शिक्षक, जनप्रतिनिधि, राष्ट्रसेवक, नागरिक समाज, विकास साझेदार, सञ्चार जगत् तथा सम्पूर्ण सरोकारवालाको सक्रिय भूमिका आवश्यक रहेको बताउनुभएको छ।

राष्ट्रिय बाल दिवसका अवसरमा प्रधानमन्त्री शाहले स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली बालबालिकामा सुख, सुस्वास्थ्य, सुरक्षित बालपन, उज्ज्वल भविष्य तथा उत्तरोत्तर प्रगतिको हार्दिक शुभकामना व्यक्त गर्नुभएको छ। “बालपनको रक्षा : भविष्यको सुरक्षा” भन्ने राष्ट्रिय नाराका साथ मनाइँदै गरिएको राष्ट्रिय बाल दिवस–२०८३ ले बालबालिकाको अधिकार संरक्षण, संवर्द्धन र उनीहरूको उज्ज्वल भविष्य निर्माणमा थप प्रेरणा प्रदान गर्ने विश्वास प्रधानमन्त्री शाहले व्यक्त गर्नुभएको छ।