काठमाडौं, भदौ २९ । नेपाली कांग्रेसले १४औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय सदस्यहरूलाई वर्तमान केन्द्रीय समितिमा समेट्ने निर्णय गरेपछि पूर्वसभापति शेरबहादुर देउवा निकट नेताहरूले आन्तरिक छलफल गर्नुभएको छ।
पूर्वसभापति देउवा निवासमा भएको अनौपचारिक छलफलमा पार्टीको पछिल्लो निर्णय र त्यसबाट उत्पन्न परिस्थितिबारे नेताहरूबीच विचार–विमर्श भएको नेता प्रकाशशरण महतले जानकारी दिनुभएको छ।
महतका अनुसार देउवा निकट समूहले आफ्नो धारणा सार्वजनिक गर्न सोमबार अपराह्न ४ बजे चुनदेवीस्थित सम्पर्क कार्यालयमा पत्रकार सम्मेलन आयोजना गर्ने भएको छ।
नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकले आइतबार वडा अधिवेशनमा सहभागी हुने निवर्तमान केन्द्रीय सदस्यहरूलाई वर्तमान केन्द्रीय समितिमा समेट्ने निर्णय गरेको थियो। कांग्रेसको वडा अधिवेशन आगामी ३ र ४ गते हुने कार्यक्रम रहेको छ।
बैठकले पार्टीका सम्पूर्ण नेता तथा कार्यकर्ताहरूलाई महाधिवेशनमा सहभागी हुनसमेत आह्वान गरेको थियो।
यसैबीच, पार्टीको पछिल्लो निर्णयप्रति तत्कालीन नेता पूर्णबहादुर खड्का निकट नेताहरू सकारात्मक देखिँदै महाधिवेशनमा सहभागी हुने दिशामा अघि बढेपछि देउवा समूहमाथि थप दबाब परेको देखिएको छ। यही परिस्थितिबीच देउवा निकट नेताहरूले छलफल गरी आफ्नो समूहको धारणा सार्वजनिक गर्न लाग्नुभएको हो।














प्रतिक्रिया दिनुहोस्