जनता टाइम्स

२९ भाद्र २०८३, सोमबार १३:५८

दुःखमा रहेका परिवारप्रति ऐक्यबद्धता जनाउँदै पीडितको उद्धार, राहत र पुनःस्थापनामा आ–आफ्नो ठाउँबाट सहयोग गरौँ : प्रचण्ड


काठमाडौं, भदौ २९ । नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भोटेकोशीमा आएको प्रलयकारी बाढीबाट ठूलो जनधनको क्षति भएको दुःखद घडीमा यस वर्षको हरितालिका तीज संयम, संवेदना र सामाजिक उत्तरदायित्वका साथ मनाउन आग्रह गर्नुभएको छ।

हरितालिका तीजको अवसरमा शुभकामना सन्देश जारी गर्दै अध्यक्ष प्रचण्डले विगतका वर्षमा जस्तो उल्लासका साथ तीज मनाउने अवस्था नरहेको उल्लेख गर्नुभएको हो।

उहाँले बाढी तथा विपद्बाट पीडित परिवारप्रति ऐक्यबद्धता जनाउँदै उद्धार, राहत र पुनःस्थापनाका कार्यमा आ–आफ्नो ठाउँबाट सहयोग गर्न सबैमा आग्रह गर्नुभएको छ। “यस वर्ष भोटेकोशीमा आएको प्रलयकारी बाढीले ठूलो जनधनको क्षति र विनाश निम्त्याएको दुःखद घडीमा विगतका वर्षझैँ उल्लासका साथ तीज मनाउने अवस्था छैन। त्यसैले सम्पूर्ण दिदीबहिनी तथा आमाहरूलाई संयम, संवेदना र सामाजिक उत्तरदायित्वका साथ तीज मनाउन हार्दिक आग्रह गर्दछु,” उहाँले भन्नुभएको छ।

अध्यक्ष प्रचण्डले विपद्को पीडामा रहेका परिवारको दुःखमा ऐक्यबद्धता प्रकट गर्दै उद्धार, राहत तथा पुनःस्थापनाका काममा सहयोग गर्नुपर्नेमा जोड दिनुभएको छ।

उहाँले विपद्को समयमा देखाइने संवेदना र संयमलाई राष्ट्रिय एकताको शक्तिमा रूपान्तरण गर्नुपर्ने धारणा पनि व्यक्त गर्नुभएको छ।“दुःखमा रहेका परिवारप्रति ऐक्यबद्धता जनाउँदै पीडितको उद्धार, राहत र पुनःस्थापनामा आ–आफ्नो ठाउँबाट सहयोग गरौँ। हाम्रो संवेदना र संयमलाई राष्ट्रिय एकताको शक्तिमा बदलौँ,” अध्यक्ष प्रचण्डले सन्देशमा भन्नुभएको छ।

अन्त्यमा उहाँले सम्पूर्ण दिदीबहिनी तथा आमाहरूमा हरितालिका तीजको हार्दिक शुभकामना व्यक्त गर्नुभएको छ।