काठमाडौं, भदौ २९ । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा समूहले विशेष महाधिवेशनबाट निर्वाचित सभापति गगन थापा नेतृत्वको संस्थापन पक्षले गरेका निर्णय नमान्ने निर्णय गरेको छ ।
सोमबार बिहान पूर्वसभापति देउवाको निवास चुनदेवीमा बसेको समूहको बैठकले गत पुसमा भएको विशेष महाधिवेशनलाई नै अवैधानिक ठहर गर्दै त्यसबाट गठित कार्यसम्पादन समितिले गरेका निर्णय स्वीकार नगर्ने निर्णय गरेको हो ।
आइतबार सभापति गगन थापाको सभापतित्वमा बसेको कार्यसम्पादन समितिको बैठकले १४ औँ महाधिवेशनबाट निर्वाचित सबै केन्द्रीय सदस्यहरूलाई सोही हैसियतमा १५ औँ महाधिवेशनमा सहभागी हुन दिने निर्णय गरेको थियो । उक्त निर्णयप्रति देउवा समूहले असहमति जनाएको हो ।
बैठकपछि नेता दीपक खड्काले राजनीतिक छलफल र समझदारीबिना विशेष महाधिवेशनबाट बनेको कार्यसम्पादन समितिले गरेका निर्णयलाई आफ्नो समूहले मान्यता नदिने बताउनुभयाे । “बैठकले विशेष महाधिवेशनबाट आएको समितिले गरेका निर्णय अवैधानिक हुने भएकाले नमान्ने निर्णय गरेको छ। एकपक्षीय रूपमा तय गरिएको अधिवेशनमा भाग नलिने र १४औँ महाधिवेशनबाट आएको समितिले तय गरेको असोज १५ गतेदेखिको अधिवेशनको कार्यतालिकाअनुसार अधिवेशन गर्ने निर्णय भएको छ,” नेता खड्काले बताउनुभएको छ ।
उहाँका अनुसार देउवा समूहले मंसिरमा १५औँ महाधिवेशन सम्पन्न गर्ने गरी असोज १५ गतेदेखि पार्टीका अधिवेशनहरू अघि बढाउने निर्णय गरेको छ । संस्थापन पक्षले असोजमा १५औँ महाधिवेशन गर्ने घोषणा गरेपछि देउवा समूहले यसअघि नै मंसिरमा महाधिवेशन गर्ने निर्णय गरिसकेको थियो ।
बैठकले महाधिवेशन सम्पन्न गर्न आवश्यक निर्वाचन समिति, अनुशासन समिति तथा क्रियाशील सदस्यता व्यवस्थापन समितिलगायतका संरचना गठन तथा पूर्णता दिने निर्णयसमेत गरेको छ । समूहले आइतबार निर्वाचन समितिको संयोजकमा यज्ञराज पोखरेललाई नियुक्त गरेको थियो ।
त्यसैगरी, पार्टीको आधिकारिकतासम्बन्धी सर्वोच्च अदालतको फैसलामाथि पुनरवलोकनको अनुमति प्राप्त भइसकेकाले त्यससम्बन्धी फैसला नआउँदासम्म प्रतीक्षा गर्दै आफ्ना गतिविधि अघि बढाउने निर्णय पनि बैठकले गरेको छ ।
गत पुस अन्तिम साता तत्कालीन केन्द्रीय समितिको असहमतिबीच महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको अगुवाइमा विशेष महाधिवेशन सम्पन्न भएपछि कांग्रेसभित्र विवाद चर्किएको हो । पूर्वसभापति देउवा र डा. शेखर कोइराला पक्षले उक्त विशेष महाधिवेशनको वैधानिकतामाथि प्रश्न उठाउँदै त्यसलाई स्वीकार गरेका छैनन् ।
देउवा र डा. शेखर पक्षले १५औँ महाधिवेशनका लागि गत पुस मसान्तसम्म नवीकरण भएका क्रियाशील सदस्यलाई मान्यता दिनुपर्ने तथा १४औँ महाधिवेशनबाट निर्वाचित सबै केन्द्रीय सदस्यलाई विशेष महाधिवेशनपछि बनेको केन्द्रीय समितिमा समावेश गर्नुपर्ने माग राख्दै आएका थिए ।
विशेष महाधिवेशनपछि बनेको कार्यसम्पादन समितिले केन्द्रीय सदस्यसम्बन्धी माग सम्बोधन गरे पनि देउवा समूहले विशेष महाधिवेशनकै वैधानिकतामा प्रश्न उठाउँदै संस्थापन पक्षले असोज १६ देखि १९ गतेसम्म आयोजना गर्ने भनेको महाधिवेशनमा सहभागी नहुने निर्णय गरेको हो ।
बैठकका निर्णय सार्वजनिक गर्न देउवा समूहले सोमबार दिउँसो ४ बजे चुनदेवीस्थित सम्पर्क कार्यालयमा पत्रकार सम्मेलन आयोजना गर्ने जनाएको छ ।














प्रतिक्रिया दिनुहोस्