काठमाडौं, भदौ २९ । नेकपा एमाले पुनर्गठन कार्यदलको बैठक असोज १ सम्मको लागि स्थगित गरिएको छ ।
काभ्रेको बल्थलीस्थित एक होटेलमा बसेको बैठकमा दुईथरी प्रतिवेदनमा उठेका विषयलाई समावेश गरी अन्तिम मस्यौदा पेस गर्न ३ सदस्यीय सम्पादन टिम बनाइएको छ । सम्पादन टिमको संयोजकमा उपाध्यक्ष रामबहादुर थापा, सदस्यहरूमा उपाध्यक्ष विष्णु पौडेल र सदस्य सचिव महासचिव शङ्कर पोखरेललाई जिम्मा दिइएको छ ।
नेकपा (एमाले) सचिव महेश बस्नेतले पार्टी अध्यक्ष परिवर्तन गर्ने विषयमा फैलाइएको भ्रम र हल्लालाई चिर्दै पार्टीको समग्र कार्यशैली, संगठनात्मक अवस्था तथा संरचनामा आवश्यक पुनर्संरचना र पुनर्ताजगी ल्याउने विषयमा बैठकमा गम्भीर छलफल भएको बताउनुभयो ।
सचिव बस्नेतका अनुसार बैठकमा पार्टी अध्यक्ष परिवर्तन गर्ने विषयमा फैलाइएको भ्रम र हल्लाका विषयमा पनि छलफल भएको थियो । “बैठकमा पार्टी अध्यक्ष परिवर्तन गर्ने विषयमा फिँजाइएको भ्रम र हल्ला चिर्दै। पार्टीको समग्र कार्यशैली, संगठनात्मक अवस्था तथा संरचनामा आवश्यक पुनर्संरचना र पुनर्ताजगी ल्याउने विषयमा गम्भीर छलफल भयो,” सचिव बस्नेतले भन्नुभयो ।
वर्तमान सरकारका गतिविधिका विषयमा पनि बैठकमा छलफल भएको उहाँले जानकारी दिनुभयो । “ वर्तमान सरकारका अधिनायकवादी, फाँसिवादी तथा जनविरोधी गतिविधिको विरोध गर्दै जनताको पक्षमा दृढ, एकताबद्ध र जुझारु संगठन निर्माण गर्ने विषयमा प्राप्त सुझावहरूलाई समेत छलफलमा समेटियो,” उहाँले भन्नुभयो ।
सचिव बस्नेतका अनुसार कार्यदलमा प्रस्तुत भएका दुवै मस्यौदा प्रस्ताव तथा बैठकका क्रममा सदस्यहरूले राख्नुभएका सुझावलाई समेटेर प्रस्तावलाई अन्तिम रूप दिने जिम्मेवारी तोकिएको छ। उहाँले भन्नुभयो, “कार्यदलमा प्रस्तुत दुवै मस्यौदा प्रस्ताव तथा बैठकका क्रममा सदस्यहरूले राखेका सुझावहरूलाई समेटी अन्तिम रूप दिने जिम्मेवारी संयोजक रामबहादुर थापा ‘बादल’, उपाध्यक्ष विष्णु पौडेल र सदस्य सचिव शङ्कर पोखरेललाई दिइएको छ।”














प्रतिक्रिया दिनुहोस्