जनता टाइम्स

२९ भाद्र २०८३, सोमबार १८:२०

भोटेकोशीको अकल्पनीय वेगले पूर्वसूचनाको अवसर नै दिएन : अध्ययन


काठमाडौं, भदौ २९ । भोटेकोशी र त्रिशूली नदीमा आएको विनाशकारी बाढीको अकल्पनीय वेग, अस्वाभाविक बहाव र फरक प्रकृतिका कारण ठूलो जनधनको क्षति भएको सरकारी अध्ययनले निष्कर्ष निकालेको छ ।

जल विज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्रले गरेको अध्ययनअनुसार भोटेकोशीमा आएको बाढी एक हजार वर्षमा एकपटक आउने बाढीभन्दा पनि विकराल प्रकृतिको थियो ।

अध्ययनअनुसार बाढी वर्षाका कारण नभई लाङटाङ लिरुङ र छाङ्बुरी क्षेत्रको भिरालो भूभागबाट खसेको विशाल हिमपहिरोका कारण उत्पन्न भएको हो । ढुंगा, बरफ र माटोसहितको लेदो तीव्र गतिमा नदीमा खसेपछि केही मिनेटमै तल्लो तटीय क्षेत्रमा भीषण विनाश भएको अध्ययनले देखाएको छ ।

बाढीमा पानी मात्र नभई ठूला ढुंगा र गेग्रानसमेत उच्च गतिमा बगेका थिए । स्रोतबाट छुट्दा बाढीको वेग ५२ मिटर प्रतिसेकेन्ड अर्थात् करिब १८८ किलोमिटर प्रतिघण्टा रहेको थियो ।

अध्ययनअनुसार बेत्रावती पुग्दा बाढीको गति ६५ किलोमिटर प्रतिघण्टा र देवघाटसम्म पुग्दा पनि २६ किलोमिटर प्रतिघण्टा थियो ।

बाढीको अस्वाभाविक वेग र बहावका कारण जलस्तर मापन गर्ने कतिपय स्टेशनसमेत बगेका थिए । यसले बाढीको वास्तविक अवस्था तत्कालै आकलन गर्न कठिन भएको अध्ययनमा उल्लेख छ ।

यस्ता प्रकृतिका बाढीको पूर्वानुमान परम्परागत प्रणालीबाट सम्भव नहुने भएकाले अब उच्च प्रविधिमा आधारित निगरानी प्रणाली आवश्यक रहेको केन्द्रको हिमविज्ञान तथा हिमताल शाखाका प्रमुख वरिष्ठ जलविज्ञ डा. सुवास तुलाधरले बताउनुभयो ।

उहाँका अनुसार यस्ता आकस्मिक र तीव्र बहाव भएका बाढीका लागि परम्परागत पूर्वसूचना प्रणाली पर्याप्त नहुने भएकाले आधुनिक प्रविधि र प्रभावकारी निगरानी प्रणाली विकास गर्न आवश्यक छ ।