काठमाडौं, भदौ ३० । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले भोटेकोशी बाढीका कारण जलविद्युत आयोजनाका सुरुङमा फसेका नेपालीको उद्धारप्रति सरकार गम्भीर नबनेको भन्दै सरकारको प्राथमिकतामाथि प्रश्न उठाउनुभएको छ ।
भोटेकोशी बाढीका कारण भोटेकोशी र त्रिशूली नदीमा सञ्चालित विभिन्न जलविद्युत आयोजनाका सुरुङमा गत भदौ १० गतेदेखि करिब ३०० नेपाली फसिरहेको र उनीहरूको अझै उद्धार हुन नसकेको भन्दै अध्यक्ष साम्पाङले सरकारको ध्यानाकर्षण गराउनुभएको हो ।
उहाँले सामाजिक सञ्जालमार्फत सरकारको प्राथमिकतामाथि व्यंग्य गर्दै भन्नुभएको छ, “३०० नेपालीलाई सुरुङबाट निकालेर उद्धार गर्नतिर नलागेर दुर्गा प्रसाईं पक्रनतिर पो रहेछ सरकारको प्राथमिकता त !”
भोटेकोशी बाढीका कारण ठूलो जनधनको क्षति भएको तथा जलविद्युत आयोजनाका सुरुङलगायत विभिन्न स्थानमा मानिसहरू फसेको अवस्थामा उनीहरूको तत्काल उद्धार हुनुपर्ने अध्यक्ष साम्पाङको भनाइ छ ।
तर, यस्तो गम्भीर परिस्थितिका बीच सरकारले उद्धार कार्यलाई प्रभावकारी बनाउनुभन्दा अभियन्ता दुर्गा प्रसाईंलाई नियन्त्रणमा लिन बढी शक्ति परिचालन गरेको देखिएको भन्दै उहाँले असन्तुष्टि व्यक्त गर्नुभएको हो ।
दुर्गा प्रसाईं झापाबाट काठमाडौं आउने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुग्दा उहाँलाई नियन्त्रणमा लिन ठूलो संख्यामा प्रहरी परिचालन गरिएको घटनालाई संकेत गर्दै अध्यक्ष साम्पाङले सरकारको प्राथमिकतामाथि प्रश्न उठाउनुभएको हो ।
बाढीका कारण जोखिममा रहेका नागरिकको जीवनरक्षा राज्यको पहिलो दायित्व भएको उल्लेख गर्दै उहाँको अभिव्यक्तिले विपद्का बेला उद्धार तथा राहतलाई प्राथमिकता दिनुपर्ने र राजनीतिक तथा प्रशासनिक शक्ति अन्यत्र केन्द्रित गर्न नहुने विषय उठाएको छ ।














प्रतिक्रिया दिनुहोस्