जोमसोम, भदौ ३० । मुस्ताङमा आजदेखि ‘घरपझोङ जलवायु सम्मेलन २०८३’ सुरु भएको छ।
सम्मेलनमा भाग लिन सातै प्रदेशका महानगर, उपमहानगर, नगर र गाउँपालिकाका जनप्रतिनिधिसहित दुई हजार बढी अतिथि मुस्ताङ आइपुग्नुभएको छ । घरपझोङ गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृत भीमकुमार बस्नेतका अनुसार अतिथिलाई स्थानीय होटेलमा बसोबासको व्यवस्था मिलाइएको छ।
सम्मेलनको व्यवस्थापनका लागि पालिकाअन्तर्गतका पाँचै वडाका गाउँ समाज, आमा समूह, युवा क्लब र अन्य सङ्घसंस्थालाई परिचालन गरिएको छ । सम्मेलनमा आउने अतिथिका लागि बिहानको ब्रेक फास्ट, खाना र खाजा सम्मेलनस्थलमा नै आमा समूहको टोलीले व्यवस्थापन गरेको थियो। बेलुकीको खाना र बसोबासका भने गाउँपालिकाले तोकेको होटेलमा व्यवस्था मिलाइएको छ ।
सम्मेलनलाई भव्य बनाउन गाउँपालिकाका पाँचै वडाका सडक र बस्तीमा स्थानीय मौलिक कला, संस्कृतिसहितको ध्वजापतङ्ग झुन्ड्याएर सजिसजाउ गरिएको छ। गाउँपालिकाको मुख्य राजमार्ग सडक तथा भित्री सडकहरूमा सडक बत्ती जडान गरी झिलिमिली पारिएको छ। आगन्तुक अतिथिको स्वास्थ्य परीक्षणका लागि स्वास्थ्यकर्मी स्वयंसेवक परिचालन गरिएको छ।
खानेपानी र इन्टरनेट, विद्युत् सेवालाई समस्या नहुने गरी पूर्वतयारी गरिएको छ। यसै गरी सवारी पार्किङ तथा ट्राफिक व्यवस्थापनलाई सहज पारिएको छ। जोमसोम कभर्डहलमा सम्मेलन सुरु भएको हो ।
सम्मेलन स्थलभित्र २८ फिट उचाइको जलवायु परिवर्तनको असरसम्बन्धी जनचेतना झल्काउने पृथ्वी रोइरहेको बेलुनको गोलाकार आकृति राखिएको छ।
यस्तै, मुस्ताङका कृषि उत्पादनको प्रचारप्रसार गर्ने उद्देश्यका साथ पचासभन्दा बढी स्टल राखिएको गाउँपालिकाका कृषि शाखा अधिकृत रोशन थकालीले जानकारी दिनुभएको छ । दुई दिनसम्म चल्ने सम्मेलनले जलवायु परिवर्तनको असरसम्बन्धी घोषणापत्र जारी गर्नेछ।














प्रतिक्रिया दिनुहोस्