काठमाडौं, भदौ ३० । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)की संसदीय दलकी उपनेता पद्मा अर्यालले विपद्पछिको उद्धार, राहत तथा पुनर्स्थापनामा सरकार प्रभावकारी रूपमा अघि बढ्न नसकेको बताउनुभएको छ ।
मंगलबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उहाँले भोटेकोशी बाढीपछिको उद्धारमा सरकारले समयमै र प्रभावकारी ढङ्गले काम गर्न सकेको भए धेरै मानिसको ज्यान जोगाउन सकिने धारणा व्यक्त गर्नुभयो । उहाँले विपद् व्यवस्थापन तथा राहत वितरणमा सरकारले देखाएको एकलौटी शैलीप्रति समेत आपत्ति जनाउनुभयो ।
विपद्को घडीमा प्रधानमन्त्री बालेन्द्र साहाले ‘म एक्लै काफी छु’ भन्ने सोच राख्न नहुने उल्लेख गर्दै उहाँले सबै पक्षको सहयोग र समन्वयलाई स्वीकार गर्न आग्रह गर्नुभयो ।
सांसद अर्यालले विपद्पछि राहत, खोज तथा उद्धार, पुनर्स्थापना र पुनर्निर्माणका कामलाई प्रभावकारी बनाउन ‘विशेष संसदीय समिति’ गठन गर्न माग गर्नुभयो । विपद् राजनीतिक स्वार्थभन्दा माथिको विषय भएको उल्लेख गर्दै उहाँले यस्तो अवस्थामा सबै राजनीतिक दल, सरकारका निकाय र सरोकारवाला पक्षबीच समन्वय तथा सहकार्य आवश्यक रहेको स्पष्ट पार्नुभयो ।
विपद्पछिको पुनर्निर्माणलाई तीव्रता दिन राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणलाई थप अधिकार सम्पन्न बनाउँदै ‘विशेष पुनर्निर्माण प्राधिकरण’ गठन गर्नुपर्ने उहाँको माग छ ।
त्रिशूली–भोटेकोशी क्षेत्रको दीर्घकालीन पुनर्निर्माणका लागि सुरक्षित बस्ती, सडक, पुल, जलविद्युत् तथा पर्यटन क्षेत्रलाई समेटेर एकीकृत गुरुयोजना बनाउनुपर्ने उहाँले सुझाव दिनुभयो । नुवाकोटको विदुर उपत्यकामा विशेष आर्थिक क्षेत्रसहितको नयाँ सहर विकास गरी बाढीपीडितलाई रोजगारीको अवसर सिर्जना गर्नुपर्ने उहाँको भनाइ छ ।
अर्यालले विपद् व्यवस्थापनका लागि तीन तहका सरकार, राजनीतिक दल, नागरिक समाज तथा अन्तर्राष्ट्रिय समुदायबीच प्रभावकारी समन्वय आवश्यक रहेको बताउनुभयो । सरकारले केही काम गरे पनि त्यसलाई पर्याप्त मान्न नसकिने उहाँले स्पष्ट पार्नुभयो ।
सरकारको आलोचना हुँदैमा पीडितका आवाजलाई दलगत दृष्टिकोणबाट हेर्न नहुनेमा पनि उहाँले जोड दिनुभयो । प्रधानमन्त्रीको नाममा सञ्चालित सामाजिक सञ्जालका आइडीबाटै पीडितलाई गालीगलौज भइरहेको भन्दै उहाँले त्यस्तो गतिविधि तत्काल रोक्न वा आधिकारिक आइडीबाहेकका अन्य आइडी बन्द गराउन आग्रह गर्नुभयो ।
उहाँले सरकार उद्धार र राहतको काममा भन्दा सामाजिक सञ्जालमा बढी केन्द्रित भएको आरोप लगाउनुभयो । ‘सामाजिक सञ्जालका लागि रिल मात्र बनाएर बस्ने हो ?’ भन्दै उहाँले सरकारको कार्यशैलीमाथि प्रश्न उठाउनुभयो । सरकारी हेलिकप्टर पीडिलाई उद्धारमा भन्दा पनि कन्टेन क्रियटर र हमी नेपालीका मन्छेलाई ओसार्न प्रयाेग भएका भन्दै उहाँले आपत्ति जनाउनुभयाे ।
बजारमा देखिएको ग्यासको कृत्रिम अभावप्रति समेत सरकारको ध्यानाकर्षण गराउँदै अर्यालले ग्यास वितरण व्यवस्थापनमा सरकार असफल भएको बताउनुभयो । सम्पन्न परिवारलाई यसको असर कम देखिए पनि एउटा कोठामा ग्यास राखेर खाना पकाउने विद्यार्थी तथा मजदुरहरू गम्भीर रूपमा प्रभावित भएको उहाँको भनाइ छ ।
जलवायु परिवर्तनका कारण नेपालले बेहोर्नुपरेको क्षतिको वैज्ञानिक अभिलेख तयार गरी अन्तर्राष्ट्रिय मञ्चमा ‘जलवायु न्याय’ को आवाज उठाउनुपर्ने उहाँले बताउनुभयो । ठुलो विपद्को अवस्थामा आवश्यक परे अन्य मुलुकबाट सहयोग लिन सरकार हिचकिचाउन नहुने धारणा पनि उहाँले व्यक्त गर्नुभयो ।














प्रतिक्रिया दिनुहोस्