जनता टाइम्स

३० भाद्र २०८३, मंगलवार १६:१६

कांग्रेसको निर्वाचन निर्देशिका जारी, सभापतिको उम्मेदवारी शुल्क ४० हजार


काठमाडौं, भदौ ३० । नेपाली कांग्रेसले पार्टीको १५औँ महाधिवेशनलाई मर्यादित, व्यवस्थित र पारदर्शी बनाउन निर्वाचन निर्देशिका–२०८३ जारी गरेको छ। कांग्रेस केन्द्रीय निर्वाचन समितिले मंगलबार निर्देशिका जारी गरेको हो।

निर्देशिकामा निर्वाचन अधिकृत तथा मतदान अधिकृतको नियुक्ति, उनीहरूको काम, कर्तव्य र अधिकार, मतदाता नामावली प्रकाशन तथा निर्वाचन प्रतिनिधिसम्बन्धी विभिन्न व्यवस्था गरिएको छ।

निर्देशिकाअनुसार निर्वाचन अधिकृतले नेपाली कांग्रेसका मूल्य र आदर्शसँग नजिक रहेका शुभेच्छुक, सहयोगी संस्था तथा सामाजिक व्यक्तित्वहरूमध्येबाट आवश्यकताअनुसार मतदान अधिकृत नियुक्त गर्न सक्ने व्यवस्था गरिएको छ। त्यस्तै, निर्वाचन प्रतिनिधि, निर्वाचन अधिकृत वा मतदान अधिकृत आफू खटिएको वडा, गाउँपालिका, नगरपालिका, उपमहानगरपालिका, महानगरपालिका, प्रदेश सभा क्षेत्र, प्रतिनिधिसभा क्षेत्र, जिल्ला, प्रदेश वा नेपाली जनसम्पर्क समितिमा हुने निर्वाचनमा कुनै पनि पद वा प्रतिनिधिका लागि उम्मेदवार बन्न नपाउने व्यवस्था गरिएको छ।

पार्टीका विभिन्न तहमा निर्वाचन सम्पन्न गर्न निर्वाचन समिति, निर्वाचन अधिकृत तथा मतदान अधिकृतलाई सम्बन्धित तहका पार्टी पदाधिकारी तथा सदस्यहरूले आवश्यक सहयोग गर्नुपर्ने निर्देशिकामा उल्लेख छ।

विदेशस्थित नेपाली जनसम्पर्क समितिको अधिवेशनका लागि केन्द्रीय निर्वाचन समितिले नेपालबाट निर्वाचन प्रतिनिधि खटाउने व्यवस्था पनि गरिएको छ। नेपालबाट प्रतिनिधि खटाउन सम्भव नभए सम्बन्धित राष्ट्रमा कार्यरत नेपाली नागरिक वा नजिकको देशबाट प्रतिनिधि खटाउन सकिने व्यवस्था निर्देशिकामा छ।

यसरी खटाइएका निर्वाचन प्रतिनिधि वा अधिकृतले सम्बन्धित देशमा हुने अधिवेशनमा कुनै पनि पदमा उम्मेदवार बन्न वा सर्वसम्मत रूपमा चयन हुन नपाउने व्यवस्था गरिएको छ।

यसैबीच, कांग्रेसको १५औँ महाधिवेशनमा सभापति पदमा उम्मेदवारी दिन ४० हजार रुपैयाँ दस्तुर तिर्नुपर्ने भएको छ। मंगलबार केन्द्रीय निर्वाचन समितिले जारी गरेको निर्वाचन निर्देशिका–२०८३ मा सभापतिसहित विभिन्न पदका उम्मेदवारका लागि शुल्क निर्धारण गरिएको हो।

निर्देशिकामा वडा सदस्यदेखि केन्द्रीय कार्यसमितिको सभापतिसम्मका विभिन्न पदमा उम्मेदवार बन्न आवश्यक मापदण्ड तथा दस्तुर तोकिएको छ।

केन्द्रीय उपसभापति र महामन्त्री पदका उम्मेदवारका लागि ३० हजार रुपैयाँ शुल्क निर्धारण गरिएको छ। त्यस्तै सहमहामन्त्री पदका लागि २० हजार रुपैयाँ र केन्द्रीय सदस्य पदका लागि ११ हजार रुपैयाँ उम्मेदवारी दस्तुर तोकिएको छ।

निर्देशिकाले कांग्रेसको महाधिवेशनअन्तर्गत हुने निर्वाचन प्रक्रियालाई थप व्यवस्थित, निष्पक्ष र पारदर्शी बनाउने उद्देश्यले निर्वाचनका विभिन्न चरण र जिम्मेवारीलाई स्पष्ट गरेको छ।