जनता टाइम्स

३० भाद्र २०८३, मंगलवार १६:४०

कृष्णभिरको पैह्रोमा १० दिनमा ट्रयाक खुल्यो, असोज १ देखि दुईतर्फी यातायात चल्ने


काठमाडौं, भदौ ३० । पृथ्वीराजमार्गअन्तर्गत नागढुंगा–मुग्लिन सडकखण्डको कृष्णभीरमा अवरुद्ध सडक खुलाउन ट्रयाक निर्माणको काम सम्पन्न भएको छ।

पूर्वाधार विकास मन्त्रालयको नेतृत्वमा भदौ २८ गतेदेखि उक्त सडकखण्डमा परीक्षणका रूपमा यातायात सञ्चालन भइरहेको छ ।आगामी असोज १ गते बिहीबार बिहानदेखि भने दुईतर्फी यातायात नियमित रूपमा सञ्चालन गरिने मन्त्रालयले जनाएको छ।  

भदौ १० गते बिहान त्रिशूलीमा आएको बाढीले कृष्णभीरको सुरक्षा पर्खालमा क्षति पुर्‍याएको थियो। त्यसपछि भदौ १४ गते आएको अर्को बाढीले सुरक्षा पर्खाल पूर्ण रूपमा भत्काएपछि उक्त सडकखण्डमा यातायात सेवा अवरुद्ध भएको थियो।

सडक अवरुद्ध भएपछि पूर्वाधार विकास मन्त्रालयले सडक विभाग तथा नेपाल जियोटेक्निकल सोसाइटीका प्राविधिकको सहयोगमा चार दिनसम्म द्रुत अध्ययन गरेको थियो। अध्ययनका क्रममा विज्ञहरूले कृष्णभीरको पहाड काटेर करिब २५० मिटर लामो नयाँ ट्रयाक निर्माण गर्ने विकल्पलाई प्राथमिकतामा राख्न सुझाव दिएका थिए।

विज्ञहरूको सुझावअनुसार भदौ १९ गतेदेखि रुख कटान सुरु गरी पहाड काट्ने काम अघि बढाइएको थियो। त्यसक्रममा करिब ३५ मिटर उचाइ र २० मिटरसम्म भित्र पहाड खनेर नयाँ ट्रयाक निर्माण गरिएको हो।

ट्रयाक निर्माणमा प्राविधिकसहित करिब ५० जना जनशक्ति निरन्तर दैनिक १२ देखि १६ घण्टासम्म खटिएका थिए। काम सुरु भएको १० औँ दिन अर्थात् भदौ २८ गतेदेखि ग्यास बुलेटसहित केही सवारीसाधन परीक्षणका रूपमा सञ्चालनमा ल्याइएको थियो। त्यसयता बिहान र बेलुका अत्यावश्यक सवारीसाधन आवतजावत गरिरहेका छन्।

हाल नयाँ ट्रयाकमा ग्राभेल गर्ने, नाली निर्माण गर्ने तथा सडकलाई थप मजबुत बनाउने काम भइरहेको छ। ग्राभेलको काम भोलिसम्म सम्पन्न गर्ने लक्ष्य राखिएको छ।

मन्त्रालयका अनुसार आवश्यक पूर्वाधारको काम पूरा भएपछि असोज १ गते बिहानदेखि कृष्णभीरमा दुईतर्फी यातायात सञ्चालन गरिनेछ।