जनता टाइम्स

३० भाद्र २०८३, मंगलवार १६:५५

कांग्रेसको निर्वाचन निर्देशिका जारी भएलगत्तै देउवाको अपिल : अवैधानिक महाधिवेशनको प्रक्रियामा सहभागी नहुनुस्, महाधिवेशन मार्फत नेतृत्व हस्तान्तरण गर्छु 


काठमाडौं, भदौ ३० । नेपाली कांग्रेसभित्र पार्टीको आगामी महाधिवेशनलाई लिएर विवाद चर्किरहेका बेला  पूर्व सभापति शेरबहादुर देउवाले पार्टीका नेता तथा कार्यकर्तालाई एकताबद्ध भएर अघि बढ्न अपिल गर्नुभएको छ। 

कांग्रेसको गगन थापा पक्षले निर्वाचन निर्देशिका सार्वजनिक गर्दै महाधिवेशन प्रक्रियालाई अघि बढाइरहेका बेला देउवाले आज छुट्टै अपिल जारी गर्दै कथित विशेष महाधिवेशन पक्षधरको गतिविधिप्रति असहमति जनाउनुभएको हो। देउवाले नेपाली कांग्रेसको विधि, विधान, पद्धति र परम्पराविपरीत अघि बढ्ने कुनै पनि गतिविधिले पार्टीलाई कमजोर बनाउने बताउँदै त्यस्ता गतिविधिमा सहभागी नहुन पार्टीका सम्पूर्ण नेता तथा कार्यकर्तालाई आग्रह गर्नुभएको छ।

उहाँले प्राकृतिक विपत्तिका कारण मुलुक शोकमा रहेका बेला राजनीतिक दल तथा नागरिक समाजले एकताबद्ध भएर विपद् व्यवस्थापनमा जुट्नुपर्नेमा जोड दिनुभएको छ। भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीबाट ज्यान गुमाउनुभएका नागरिकहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दै सभापति देउवाले शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना प्रकट गर्नुभएको छ।

उहाँले बाढीमा परी घाइते हुनुभएका सबैको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै बेपत्ता नागरिकको खोजी तथा उद्धार कार्यलाई प्रभावकारी रूपमा निरन्तरता दिन सम्बन्धित सबै पक्षलाई आग्रह गर्नुभएको छ। प्राकृतिक विपत्तिको कठिन परिस्थितिमा राजनीतिक विचार, धार्मिक आस्था वा भौगोलिक सीमाका आधारमा विभेद नगरी खोज, उद्धार, राहत, पुनःस्थापना तथा पुनर्निर्माणका काममा सबै नेपाली एकजुट हुनुपर्ने उहाँको भनाइ छ। उहाँले कांग्रेसका सबै तहका नेता तथा कार्यकर्तालाई समेत आ–आफ्नो स्थानबाट विपद् प्रभावित नागरिकको सहयोगमा जुट्न निर्देशन दिनुभएको छ।

देउवाले नेपालले सामना गरिरहेको महाविपत्तिमा मित्रराष्ट्र, अन्तर्राष्ट्रिय सहयोगी निकाय तथा विभिन्न संघ–संस्थाबाट प्राप्त सहयोगप्रति आभार व्यक्त गर्दै आगामी दिनमा समेत आवश्यक सहयोग र सहकार्यका लागि अपिल गर्नुभएको छ।

उहाँले २०७२ सालको विनाशकारी भूकम्प तथा त्यसपछि फैलिएको कोभिड–१९ महामारीको स्मरण गर्दै ती संकटमा राजनीतिक दल, नागरिक समाज, सञ्चारमाध्यमलगायत सबै पक्ष एकजुट भएर सामना गरेको उल्लेख गर्नुभएको छ। भोटेकोशी बाढीपछि पनि त्यही भावनाका साथ पुनःस्थापना र पुनर्निर्माणको वातावरण बनाउन सरकारसँग उहाँले आग्रह गर्नुभएको छ ।

देउवाले मुलुक प्राकृतिक विपत्तिको गहिरो शोकमा रहेका बेला नेपाली कांग्रेसभित्र बढ्दै गएको आन्तरिक मतभेदले नेता तथा कार्यकर्तामा निराशा पैदा गरेको बताउनुभएको छ। उहाँले नेपाली कांग्रेस केवल एउटा राजनीतिक दल नभई आधुनिक नेपाल निर्माणको प्रमुख आधारस्तम्भ भएको उल्लेख गर्नुभएको छ। २००७ सालदेखि मुलुकमा भएका प्रमुख राजनीतिक परिवर्तनमा कांग्रेसले नेतृत्वदायी र निर्णायक भूमिका निर्वाह गर्दै आएको उहाँको दाबी छ।

अग्रज नेताहरूको त्याग, बलिदान र संघर्षबाट निर्माण भएको कांग्रेसको ऐतिहासिक विरासत कुनै व्यक्तिको महत्वाकांक्षा वा नियोजित गतिविधिका कारण कमजोर हुन नसक्ने उहाँले बताउनुभएको छ। उहाँले पछिल्लो तीन दशकमा मुलुकले पूर्वाधार, शिक्षा, स्वास्थ्य, मानव संसाधन विकास, गरिबी न्यूनीकरण तथा नागरिक पहुँचलगायतका क्षेत्रमा हासिल गरेको परिवर्तनलाई वस्तुगत रूपमा मूल्यांकन गर्नुपर्नेमा जोड दिनुभएको छ। यद्यपि, प्राप्त उपलब्धिमै सन्तुष्ट भएर बस्न नहुने उहाँको भनाइ छ। सुशासन स्थापना, रोजगारी सिर्जना, आर्थिक समृद्धि, मुलुकलाई विकसित राष्ट्र बनाउने तथा राज्यप्रतिको नागरिक विश्वास थप सुदृढ गर्ने दिशामा अझ धेरै काम गर्न बाँकी रहेको उहाँले बताउनुभएको छ।

‘अवैधानिक विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनाउँछ’

देउवाले कांग्रेसभित्र देखिएको वर्तमान विवादप्रति आफू गम्भीर रूपमा चिन्तित रहेको बताउनुभएको छ। उहाँले पार्टीको विधि, विधान, पद्धति, परम्परा तथा केन्द्रीय समितिका निर्णयविपरीत विशेष महाधिवेशन गर्ने समूहले एकपक्षीय ढंगबाट १५औँ महाधिवेशनको प्रक्रिया अघि बढाउन खोजेको आरोप लगाउनुभएको छ।

पार्टी निर्माणमा लामो समयदेखि योगदान पुर्‍याउनुभएका नेता तथा बहुसंख्यक सदस्यलाई बेवास्ता गरेर अघि बढ्ने प्रयास कांग्रेसको हितमा हुन नसक्ने उहाँको धारणा छ।

उहाँले विशेष महाधिवेशनको आवश्यकता र त्यसपछि सम्पन्न प्रतिनिधिसभा निर्वाचनको परिणामले विशेष महाधिवेशन पक्षधर नेतृत्वले गरेको लोकप्रियताको दाबीलाई समेत असत्य सावित गरिसकेको जिकिर गर्नुभएको छ।

विशेष महाधिवेशन किन गरियो भन्ने प्रश्नको जवाफसमेत आम नेता–कार्यकर्ता र नेपाली जनताले अझै पाउन नसकेको उहाँको भनाइ छ।

विशेष महाधिवेशनको वैधतासम्बन्धी विषय सर्वोच्च अदालतमा विचाराधीन रहेको उल्लेख गर्दै देउवाले अदालतबाट अन्तिम निरूपण नहुँदै महाधिवेशन प्रक्रिया अघि बढाउनु विधि, विधान तथा कानुनी सिद्धान्तअनुकूल नहुने बताउनुभएको छ।

सर्वोच्च अदालतको पूर्ण इजलासले पुनरावलोकनको निस्सा प्रदान गरिसकेको अवस्थाले समेत विषयमा गम्भीर संवैधानिक तथा कानुनी प्रश्न रहेको उहाँको भनाइ छ।

अदालतमा वैधताको प्रश्न विचाराधीन रहेको र सोही मुद्दामा कानुनी प्रक्रिया चलिरहेको अवस्थामा अन्तिम निर्णय नआउँदै अधिवेशन प्रक्रिया अघि बढाउनु राजनीतिक, नैतिक तथा कानुनी दृष्टिले उपयुक्त नहुने उहाँले स्पष्ट पार्नुभएको छ।

कांग्रेसले विगतमा पार्टीभित्र तथा मुलुकमा उत्पन्न जटिल समस्यालाई एकता, सहमति र सहकार्यका आधारमा समाधान गर्दै आएको स्मरण गराउँदै उहाँले अहिले पनि संवाद र सहमतिबाटै विवाद समाधान गर्नुपर्ने धारणा राख्नुभएको छ।

उहाँले बहुसंख्यक नेता तथा कार्यकर्ताको सहभागिताबिना गरिने कुनै पनि महाधिवेशनले कांग्रेसलाई बलियो नभई कमजोर बनाउने दाबी गर्नुभएको छ।

त्यसैले विशेष महाधिवेशनबाट आएको समूहले आयोजना गर्ने महाधिवेशनमा सहभागी नहुन उहाँले कांग्रेसका सम्पूर्ण नेता तथा कार्यकर्तालाई हार्दिक आग्रह गर्नुभएको छ।

‘मलाई पदको लोभ छैन, तर पार्टीको जिम्मेवारीबाट पछि हट्दिनँ’

देउवाले आफूलाई व्यक्तिगत रूपमा कुनै पद वा जिम्मेवारीको लोभ नरहेको स्पष्ट पार्नुभएको छ। उहाँले अब कुनै पदमा पुग्ने लालसा आफूले नराखेको उल्लेख गर्दै राज्य वा नेपाली कांग्रेसले आफ्नो अनुभवको आवश्यकता महसुस गरे जीवनको अन्तिम क्षणसम्म पनि जिम्मेवारी निर्वाह गर्न आफू पछि नहट्ने बताउनुभएको छ।

१४औँ महाधिवेशनबाट विधिवत् निर्वाचित सभापतिका रूपमा १५औँ महाधिवेशन सम्पन्न गरी पार्टीको नेतृत्व हस्तान्तरण गर्नु आफ्नो वैधानिक, राजनीतिक तथा नैतिक दायित्व रहेको उहाँले उल्लेख गर्नुभएको छ। विधान र संविधानअनुसार महाधिवेशन सम्पन्न गर्न पर्याप्त समय बाँकी रहेको अवस्थामा सहमति नगरी हतारमा विशेष महाधिवेशन गर्ने प्रयासले पार्टीलाई कमजोर र विभाजित बनाउने उहाँको चेतावनी छ। ‘पार्टीलाई कमजोर बनाउने कार्य हुँदा म मुकदर्शक भएर बस्न सक्दिनँ’ भन्ने स्पष्ट सन्देश दिँदै देउवाले कांग्रेसको संस्थागत एकता र विधिको संरक्षणका लागि आफू सक्रिय रहने संकेत गर्नुभएको छ।

मंसिर २१–२३ को महाधिवेशनमा जुट्न अपिल

देउवाले कांग्रेसका सम्पूर्ण नेता, कार्यकर्ता, शुभेच्छुक तथा आम नागरिकलाई पार्टीभित्र देखिएको वर्तमान मतभेद अन्त्य गर्दै आगामी मंसिर २१, २२ र २३ गते सम्पन्न हुने १५औँ महाधिवेशनको तयारीमा एकताबद्ध भएर जुट्न आग्रह गर्नुभएको छ।

पार्टीभित्रको एकता, सहमति र सहकार्यलाई थप सुदृढ बनाउँदै अघि बढ्नुपर्नेमा जोड दिँदै उहाँले सबै पक्षबाट साथ, सहयोग र सहकार्यको अपेक्षा गर्नुभएको छ।