काठमाडौं, भदौ ३० । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेविरुद्धको मुद्दामा अभियोग संशोधन गर्न अनुमति दिने कास्की जिल्ला अदालतका न्यायाधीश हिमलाल बेल्बासेलाई उच्च अदालतको न्यायाधीशमा सिफारिस गरिएको छ।
न्याय परिषद्ले उमेर हदका कारण चार दिनपछि अनिवार्य अवकाशमा जान लाग्नुभएका बेल्बासेलाई उच्च अदालत जनकपुरको न्यायाधीशमा नियुक्तिका लागि सिफारिस गरेको हो।
लामिछानेविरुद्ध कास्की जिल्ला अदालतमा दर्ता भएको सूर्यदर्शन सहकारी ठगी, संगठित अपराध तथा सम्पत्ति शुद्धीकरणसम्बन्धी अभियोग संशोधनको अनुमति बेल्बासेको इजलासले गत जेठ ८ गते दिएको थियो। संशोधनपछि लामिछानेविरुद्ध सहकारी ठगीसम्बन्धी अभियोग मात्रै कायम रहेको छ।
न्याय परिषद्को पछिल्लो विवरणअनुसार बेल्बासे जिल्ला न्यायाधीशको वरियतामा १३औँ स्थानमा हुनुहुन्छ। परिषद्ले जिल्ला अदालतबाट उहाँलाई मात्रै उच्च अदालतको न्यायाधीशमा सिफारिस गरेको छ।

२०२० साल असोज ४ गते जन्मिनुभएका बेल्बासेले यही असोज ३ गते ६३ वर्षे उमेर हद पूरा गर्दै हुनुहुन्छ। त्यसअघि नै उच्च अदालतको न्यायाधीशमा सिफारिस गरिए पनि उहाँले उच्च अदालत जनकपुर पुगेर काम गर्न नपाउने सम्भावना छ।
परिषद्ले सर्वोच्च अदालतका रजिस्ट्रार भद्रकाली पोखरेललाई उच्च अदालत सुर्खेत तथा फैसला कार्यान्वयन निर्देशनालयका महानिर्देशक गजेन्द्रबहादुर सिंहलाई उच्च अदालत विराटनगरको न्यायाधीशमा नियुक्ति तथा पदस्थापनका लागि सिफारिस गरेको छ।
यसअघि परिषद्ले लामिछानेको पक्षमा आदेश दिएका उच्च अदालत तुलसीपुरका तत्कालीन न्यायाधीश वासुदेव आचार्यलाई विशेष अदालतको अध्यक्षमा नियुक्त गरेको थियो। गत असार ३२ गते आचार्यलाई विशेष अदालतको अध्यक्ष बनाउन सुदर्शनदेव भट्टलाई निर्धारित अवधि पूरा नहुँदै सरुवा गरिएको थियो।

२०८२ पुसमा आचार्य र न्यायाधीश तेजनारायण पौडेलको इजलासले लामिछानेको भागमा पर्ने २ करोड ७४ लाख ८४ हजार रुपैयाँ बिगो बुझेर रिहा गर्न आदेश दिएको थियो। उक्त आदेशलाई लिएर कानुनी वृत्तमा बहस भएको थियो।














प्रतिक्रिया दिनुहोस्