काठमाडौं, भदौ ३१ । सर्लाहीको कबिलासी नगरपालिका–७ सिर्सियामा दुई मोटरसाइकल आपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ भने दुई जना गम्भीर घाइते भएका छन् ।
मलङ्गवा–नवलपुर सडकखण्डअन्तर्गत सिर्सियामा मंगलबार साँझ मधेस प्रदेश ०३–०३३ प ७८२४ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको भारतीय बिआर३०एपी १२२४ नम्बरको मोटरसाइकल आपसमा ठोक्किएका थिए ।
दुर्घटनामा ७८२४ नम्बरको मोटरसाइकल चालक गोडैता नगरपालिका–६ का ३० वर्षीय सुमित यादव र भारतीय मोटरसाइकलका चालक कबिलासी नगरपालिका–८ का २६ वर्षीय पप्पु पासवानको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका दुवै जनाको प्रादेशिक अस्पताल मलङ्गवामा उपचारका क्रममा मृत्यु भएको प्रहरी नायब उपरीक्षक वेदप्रसाद गौतमले जानकारी दिनुभयो ।
सोही दुर्घटनामा १२२४ नम्बरको मोटरसाइकलमा सवार कबिलासी नगरपालिका–८ का ३३ वर्षीय सुरेन्द्र पासवान र मलङ्गवा नगरपालिका–६ का १८ वर्षीय बब्लुकुमार पासवान गम्भीर घाइते भएका छन् । उनीहरूको अनुहार, टाउको र खुट्टामा चोट लागेको प्रहरीले जनाएको छ ।
घाइते दुवै जनाको प्रादेशिक अस्पताल मलङ्गवामा प्राथमिक उपचारपछि थप उपचारका लागि जनकपुर पठाइएको छ ।
प्रहरीका अनुसार तीव्र गतिका कारण दुवै मोटरसाइकल आपसमा ठोक्किएका हुन् । दुर्घटनामा संलग्न दुवै मोटरसाइकल प्रहरीले नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ ।














प्रतिक्रिया दिनुहोस्