काठमाडौं, भदौ ३१ । सिंहदरबारमा सर्वदलीय बैठक सुरु भएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आह्वान गर्नुभएको बैठकमा विभिन्न राजनीतिक दलका शीर्ष नेताहरू सहभागी हुनुहुन्छ।
बैठकमा उच्चस्तरीय राजनीतिक संयन्त्र गठन गर्ने विषयमा छलफल हुने बताइएको छ। त्यसैगरी विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनलगायत समसामयिक विषयमा पनि बैठकमा छलफल हुने रास्वपाका प्रवक्ता जगदीश खरेलले जानकारी दिनुभएको छ।
बैठकमा रास्वपा सभापति रवि लामिछाने, महामन्त्री विपिन आचार्य र सहमहामन्त्री पुरुषोत्तम यादव सहभागी हुनुहुन्छ।
त्यसैगरी नेपाली कांग्रेसका सभापति गगन थापा, नेकपा एमालेकी सचिव पद्मा अर्याल, नेपाली कम्युनिष्ट पार्टीका सहसंयोजक एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल, नेता वर्षमान पुन, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता ज्ञानबहादुर शाही तथा जनमत पार्टीका अध्यक्ष डा. सीके राउतलगायत नेताहरू बैठकमा सहभागी हुनुहुन्छ।
विपद् व्यवस्थापन तथा पछिल्लो राजनीतिक परिस्थितिबारे साझा धारणा निर्माण गर्ने उद्देश्यले बैठक आयोजना गरिएको बताइएको छ। उच्चस्तरीय राजनीतिक संयन्त्र गठनको प्रस्तावमाथि पनि दलहरूबीच छलफल हुने भएकाले बैठकलाई राजनीतिक रूपमा चासोका साथ हेरिएको छ।














प्रतिक्रिया दिनुहोस्