जनता टाइम्स

३१ भाद्र २०८३, बुधबार १५:४१

ओखलढुङ्गामा ढुङ्गा बोकेको ट्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु


ओखलढुङ्गा, भदौ ३१ । ओखलढुङ्गाको मानेभञ्ज्याङ गाउँपालिका–९ राघवपुरस्थित सडकखण्डमा ढुङ्गा बोकेको ट्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ।

राघवपुरस्थित मानेभञ्ज्याङ–राघवपुर भित्री कच्ची सडकखण्डमा ढुङ्गा लोड गरी मानेभञ्ज्याङतर्फ जाँदै गरेको लु.४ त १६७२ नम्बरको ट्याक्टर अनियन्त्रित भई सडकबाट करिब १०० मिटर तल खसेर दुर्घटना भएको हो।

दुर्घटनाको खबर प्राप्त हुनासाथ प्रहरी चौकी मानेभञ्ज्याङबाट प्रहरी नायब निरीक्षक खुदु मुर्मु तथा जिल्ला प्रहरी कार्यालय ओखलढुंगाबाट प्रहरी निरीक्षक शेखरकुमार साहको कमाण्डमा प्रहरी टोली घटनास्थलमा पुगेको थियो।

दुर्घटनामा ट्याक्टरमा सवार मानेभञ्ज्याङ गाउँपालिका–८ का २० वर्षीय नवीन पुलामी मगर र ६२ वर्षीय छविलाल तिमल्सिनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।

ट्याक्टरमा सवार सोही स्थानका २९ वर्षीय तुलसी थापा मगर, २८ वर्षीय भीमबहादुर सार्की र ट्याक्टर चालक २५ वर्षीय मिलन राई भने सकुशल रहेका छन्।

दुर्घटनामा ट्याक्टर पूर्ण रूपमा क्षतिग्रस्त भएको छ। प्रहरीले ट्याक्टर चालक मिलन राईलाई नियन्त्रणमा लिएर दुर्घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।