जनता टाइम्स

३१ भाद्र २०८३, बुधबार १६:२७

सरकारले तोकेको मूल्यमा उपभोक्ताले ग्यास नपाउने अवस्थाको तत्काल अन्त्य होस् : अर्जुन नरसिंह केसी 


काठमाडौं, भदौ ३१ । नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले काठमाडौं उपत्यकामा मागअनुसार खाना पकाउने ग्यासको आपूर्ति हुन नसकेको भन्दै सरकारको ध्यानाकर्षण गराउनुभएको छ।

प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद केसीले काठमाडौं उपत्यकामा दैनिक करिब ४० हजार सिलिण्डर ग्यासको माग रहेको भए पनि सोअनुसार आपूर्ति हुन नसकेको बताउनुभएको हो। उहाँले ग्यास लिन उपभोक्ताहरू घण्टौंसम्म लाइनमा बस्नुपर्ने अवस्था रहेको उल्लेख गर्नुभयो।

उहाँका अनुसार तोकिएको मूल्यमा ग्यास पाउन कठिन भए पनि कालोबजारमा भने प्रतिशिलिण्डर २६ सय रुपैयाँसम्ममा सहजै ग्यास उपलब्ध हुने अवस्था देखिएको छ। यस्तो अवस्थाले राज्यको उपस्थिति र बजार नियमनको प्रभावकारितामाथि गम्भीर प्रश्न उठाएको उहाँको भनाइ छ।

सांसद केसीले २६ सय रुपैयाँ तिरेर सहजै ग्यास पाउन सकिने तर सरकारले तोकेको मूल्यमा उपभोक्ताले ग्यास नपाउने अवस्थाको तत्काल अन्त्य गर्नुपर्ने आग्रह गर्नुभयो।

उहाँले वर्तमान अवस्थालाई संकटको आडमा सिर्जना गरिएको अस्वाभाविक बजार चक्रका रूपमा व्याख्या गर्दै यसबाट उपभोक्ता ठगिने अवस्था अन्त्य गर्न सरकार गम्भीर बन्नुपर्ने बताउनुभयो।

अनुगमन तथा नियमन गर्ने निकायहरू कानुनी अधिकार हुँदाहुँदै पनि प्रभावकारी रूपमा सक्रिय हुन नसकेको भन्दै सांसद केसीले सरकारको भूमिकाप्रति समेत प्रश्न उठाउनुभएको छ। उहाँले बजारमा देखिएको कालोबजारी र कृत्रिम अभाव नियन्त्रण गरी उपभोक्तालाई तोकिएको मूल्यमा सहज रूपमा ग्यास उपलब्ध गराउन तत्काल प्रभावकारी कदम चाल्नुपर्नेमा जोड दिनुभयो।