काठमाडौं, भदौ ३१ । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले विपद्का समयमा राज्यका सबै संयन्त्र समयमै र प्रभावकारी रूपमा परिचालन गर्न नसक्दा अमूल्य मानवीय क्षति हुन पुगेको बताउनुभएको छ।
रसुवा जिल्लास्थित भोटेकोशी नदीमा आएको प्रलयकारी बाढीका क्रममा स्याफ्रुबेसीस्थित चिलिमे जलविद्युत केन्द्रको भूमिगत विद्युतगृहमा ड्युटीमा रहनुभएका कर्मचारीहरू विद्युतगृहमै थुनिन पुगेको घटनाप्रति उहाँले गहिरो दुःख व्यक्त गर्नुभएको छ।
बाढीका कारण विद्युतगृह जाने मुख्य पहुँच सुरुङ अवरुद्ध भएपछि कर्मचारीहरू बाहिरी सम्पर्क तथा उद्धारको पहुँचबाट समेत टाढिनुपर्ने अवस्था सिर्जना भएको उहाँले बताउनुभएको छ। विकट भूगोल, हेलिकप्टरबाट समेत ठूला सामग्री तथा उपकरण लैजान कठिनाइ, बाढीबाट भएको व्यापक क्षति र मुख्य पहुँच मार्ग नै अवरुद्ध भएका कारण समयमै उद्धारमा कठिनाइ उत्पन्न भएको उहाँको भनाइ छ।
घिसिङले यस्ता विपद्का घटनामा व्यक्तिगत भूमिकाभन्दा प्रभावित नागरिकको जीवनरक्षा, शीघ्र खोज तथा उद्धार र राज्यका सबै संयन्त्रको प्रभावकारी परिचालन नै सबैभन्दा महत्त्वपूर्ण विषय भएको उल्लेख गर्नुभएको छ।
चिलिमे जलविद्युत केन्द्रसँग विगतमा प्राविधिक तथा व्यवस्थापकीय रूपमा जोडिएका कारण विद्युतगृहका संरचना र अवस्थाबारे आफू परिचित रहेको बताउँदै उहाँले उद्धारका क्रममा नेपाली सेनालाई आवश्यक प्राविधिक सुझाव तथा सहजीकरण गरेको जानकारी दिनुभएको छ।
बाढीपछिका दिनमा रसुवा सदरमुकाम धुन्चे पुगेर प्रभावित क्षेत्रको अवस्थाबारे जानकारी लिने क्रममा रसुवागढी, चिलिमे, माथिल्लो त्रिशूली–१ लगायतका जलविद्युत आयोजनामा उद्धार कार्यलाई थप तीव्रता दिनुपर्ने विषयमा सम्बन्धित निकायलाई आवश्यक सुझाव दिएको उहाँले बताउनुभएको छ।
त्यसपछि प्रधानमन्त्रीलाई समेत खोज, उद्धार तथा राहतका कार्यलाई थप प्रभावकारी बनाउन आग्रह गर्दै आवश्यक सहयोगका लागि आफू तयार रहेको जानकारी गराएको घिसिङले उल्लेख गर्नुभएको छ।
उहाँले कार्यस्थलमै अचानक आइपरेको विपद्मा परी ज्यान गुमाउनुभएका चिलिमे जलविद्युत केन्द्रका कर्मचारीहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्नुभएको छ। साथै, शोकसन्तप्त परिवारजनप्रति हार्दिक समवेदना व्यक्त गर्नुभएको छ।
विपद्को कठिन परिस्थितिमा खोज तथा उद्धारमा अहोरात्र खटिनुभएका नेपाली सेना, भारतीय सेनाका विज्ञ टोली, नेपाल प्रहरी, चिलिमे कम्पनीका व्यवस्थापन तथा कर्मचारीलगायत सम्पूर्ण उद्धारकर्मी तथा सहयोगीहरूप्रति उहाँले हार्दिक धन्यवाद व्यक्त गर्नुभएको छ।
विपद्का समयमा ज्यानको जोखिम मोलेर उद्धार कार्यमा खटिनुभएका सबैप्रति सम्मान व्यक्त गर्दै घिसिङले दिवङ्गत कर्मचारीहरूको योगदान र सम्झना सदैव जीवित रहने बताउनुभएको छ।
आज चिलिमेकाे सुरुङमा २० दिन पछि उद्धार टोलीले ४ जनाको शव फेला पारेको छ ।














प्रतिक्रिया दिनुहोस्