जनता टाइम्स

३१ भाद्र २०८३, बुधबार २०:४८

नेपालको एकीकरणदेखि संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनासम्ममा मगर समुदायको योगदान अतुलनीय  : मुख्यमन्त्री किरण थापा


पोखरा, भदौ ३१ । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले नेपालको एकीकरणदेखि संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनासम्मका विभिन्न आन्दोलनमा मगर समुदायको अतुलनीय र ऐतिहासिक योगदान रहेको बताउनुभएको छ।

नेपाल मगर संघका संस्थापक अध्यक्ष हेमबहादुर पुन मगरको २२औँ स्मृति दिवसका अवसरमा आज पोखरामा आयोजित कार्यक्रममा सम्बोधन गर्नुहुँदै मुख्यमन्त्री थापा मगरले नेपालको इतिहास निर्माणमा मगर समुदायले महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएको उल्लेख गर्नुभयो।

नेपाल एकीकरणका क्रममा पृथ्वीनारायण शाहसँगै गोर्खा र लमजुङबाट सिपाहीका रूपमा आएका मगर समुदायका व्यक्तिहरू काठमाडौं उपत्यका तथा आसपासका क्षेत्रमा बसोबास गर्न थालेको ऐतिहासिक प्रसङ्ग उल्लेख गर्नुहुँदै उहाँले त्यसक्रममा  मगर समुदायको मौलिक भाषा, संस्कृति र संस्कार क्रमशः कमजोर बन्दै गएको बताउनुभयो।

उहाँले मगर समुदायको भाषा, संस्कृति, कला, संस्कार र पहिचानको संरक्षण, प्रवर्द्धन तथा पुनःउत्थानकाे काम विशेष रूपमा अघि बढ्नुपर्नेमा जोड दिनुभयो। समुदाय आफ्नो मौलिक पहिचान संरक्षणका लागि एकताबद्ध भएर अघि बढ्नुपर्ने उहाँको भनाइ थियो।

नेपालका प्रथम सहिद क्याप्टेन लखन थापाको योगदानको स्मरण गर्नुहुँदै मुख्यमन्त्री थापा मगरले राणा शासनविरुद्धको संघर्षदेखि विभिन्न राजनीतिक आन्दोलनसम्म मगर समुदायको महत्वपूर्ण भूमिका रहेको स्पष्ट पार्नुभयो।

देश तथा विदेशका सेना, प्रहरीलगायत सुरक्षा निकायमा मगर समुदायको ठूलो उपस्थिति रहेको उल्लेख गर्नुहुँदै उहाँले मगर समुदायको इमानदारिता र योगदानको उच्च कदर हुँदै आएको बताउनुभयो। अब नीति निर्माण, राजनीति तथा उच्च निजामती सेवामा समेत मगर समुदायको उपस्थिति अझ सशक्त बनाउनुपर्ने उहाँको भनाइ थियो।

जातीय आधारमा विभाजित हुनुको सट्टा मगर समुदाय एकीकृत भएर आफ्नो भाषा, संस्कृति, कला र पहिचान संरक्षणमा लाग्नुपर्नेमा उहाँले जोड दिनुभयो। संस्थागत तथा व्यक्तिगत रूपमा मगर समुदायको सशक्तीकरण एवं भाषा–संस्कृति संरक्षणका लागि आफ्नो तर्फबाट सदैव पूर्ण सहयोग रहने प्रतिबद्धता पनि मुख्यमन्त्री थापा मगरले व्यक्त गर्नुभयो।

प्रतिष्ठानका अध्यक्ष सञ्जिता पुनको अध्यक्षतामा सम्पन्न कार्यक्रममा पूर्वमन्त्री तथा प्रतिष्ठानका संरक्षक उत्तम पुन, गण्डकी प्रदेशसभाका पूर्वसदस्य राजीव पहारीलगायत नेपाल मगर संघका केन्द्रीय पदाधिकारी, विभिन्न राजनीतिक दलका प्रतिनिधि तथा मगर समुदायका अगुवाहरूको उपस्थिति रहेको थियो।