जनता टाइम्स

१ आश्विन २०८३, बिहीबार ०८:१२

एमाले नेता सूर्य थापाकाे प्रश्न : रवि लामिछानेको पक्षमा न्यायालयको सेटिङ कसरी भएको छ ? कसले यो काम गरिरहेको छ ?


काठमाडौं, असोज १ । नेकपा (एमाले)का नेता सूर्य थापाले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेविरुद्धका मुद्दामा न्यायालयको निर्णय र न्यायाधीशको नियुक्तिसम्बन्धी पछिल्लो घटनाक्रमलाई लिएर प्रश्न उठाउनुभएको छ।

नेता थापाले सामाजिक सञ्जालमार्फत लामिछानेको पक्षमा न्यायालयमा ‘सेटिङ’ भएको हो कि भन्ने प्रश्न गर्दै त्यसमा संलग्न व्यक्ति वा पक्षबारे जिज्ञासा व्यक्त गर्नुभएको हो। उहाँले प्रश्न गर्नुभएको छ, ‘रवि लामिछानेको पक्षमा न्यायालयको सेटिङ कसरी भएको छ ? कसले यो काम गरिरहेको छ ?’

लामिछानेविरुद्ध सम्पत्ति शुद्धीकरण तथा संगठित अपराधसम्बन्धी कसुर फिर्ता गर्न अनुमति दिने जिल्ला न्यायाधीश उच्च अदालतको न्यायाधीशमा सिफारिस भएपछि थापाले यस्तो प्रश्न उठाउनुभएको हो।

जिल्ला अदालत कास्कीका न्यायाधीश हिमलाल बेलबासेलाई मंगलबार न्याय परिषद्ले उच्च अदालतको न्यायाधीश नियुक्तिका लागि सिफारिस गरेको छ। बेलबासे जिल्ला न्यायाधीशका रूपमा चार दिनपछि अनिवार्य अवकाशमा जाँदै हुनुहुन्छ ।

६३ वर्षे उमेर हदका कारण उहाँ असोज ३ गते अवकाश हुने तयारीमा हुनुहुन्थ्यो। तर अवकाश हुनुअघि नै उहाँलाई उच्च अदालतको न्यायाधीश नियुक्तिका लागि सिफारिस गरिएको हो। न्याय परिषद्को सिफारिसमा उहाँ १३औँ वरियतामा रहनुभएको जनाइएको छ। ‘बेलबासे जिल्ला न्यायाधीशबाट चार दिनपछि अनिवार्य अवकाश हुँदै थिए, ६३ वर्षे उमेर हदका कारण उनी असोज ३ गते अवकाश हुन लागेका थिए तर त्यसअघि नै १३औँ वरियतामा रहेका बेलबासेलाई उच्चमा सिफारिस गरिएको पाइएको छ’, उहाँले सामाजिक सञ्जाल फेसबुकमा लेख्नु भएको छ । 

लामिछानेविरुद्धका मुद्दासँग सम्बन्धित निर्णय र त्यसपछि भएको न्यायाधीश सिफारिसलाई जोडेर एमाले नेता थापाले प्रश्न उठाउनुभएको हो। उहाँको प्रश्नले न्यायालयका पछिल्ला निर्णय, न्यायाधीशको सिफारिस प्रक्रिया र त्यसको पारदर्शितामाथि राजनीतिक वृत्तमा थप बहस सिर्जना गरेको छ।