जनता टाइम्स

१ आश्विन २०८३, बिहीबार १०:००

सरकारलाई गोकुल बाँस्काेटाकाे प्रश्न : नयाँ भनेको के ? एउटै मन्त्रीका तिन दर्जन सल्लाहकार ? 


काठमाडौं, असोज १ । नेकपा (एमाले)का नेता गोकुल बाँस्कोटाले वर्तमान सरकारप्रति व्यङ्ग्य गर्दै सरकारका कामकारबाहीमाथि प्रश्न उठाउनुभएको छ।

नेता बाँस्कोटाले सामाजिक सञ्जालमार्फत सरकारका गतिविधिलाई व्यङ्ग्यात्मक शैलीमा प्रस्तुत गर्दै ‘नयाँ’ भनिए पनि त्यसको प्रगति कसरी मापन गर्ने भन्ने प्रश्न गर्नुभएको हो।

उहाँले लेख्नुभएको छ, ‘नयाँ भन्या नयाँ हो के, अरू छु मतलब? ट्याँ टुँ, भिजिहट भिसा बन्द, एउटै मन्त्रीका तिन दर्जन सल्लाहकार, महँगी स्वाट्टै घट्यो, लगानी ह्वात्तै बढ्यो, विदेशी गल्लीमा नेपाली रित्तिए, प्रगति पो के ले नाप्ने?’

बाँस्कोटाले सरकारको विरोध गर्न पाउने नागरिक अधिकारको विषयलाई समेत व्यङ्ग्यात्मक ढङ्गले उठाउनुभएको छ। उहाँले सरकारको विरोध गर्नको अस्पतालको आँगनमै बच्चा जन्माएको भनी सरकारका केही समर्थकहरूले गरेको आलोचना प्रति पनि कटाक्ष गर्नुभएको हो। उहाँले लेख्नुभएको छ, ‘सरकारको विरोध गर्न आँगनमै बच्चा जन्माउन चैँ नहुने के–मान्छेले।’

बाँस्कोटाको पछिल्लो टिप्पणीमा सरकारले दाबी गर्दै आएको ‘नयाँ’ तथा उपलब्धिमूलक कामकारबाहीप्रति व्यङ्ग्य गर्दै महँगी, वैदेशिक रोजगारी तथा पलायन, भिजिहट भिसा र सरकारी नियुक्तिमा सल्लाहकारको सङ्ख्याजस्ता विषय उठाइएको छ।