काठमाडौं, असोज १ । रसुवाको भोटेकोशी नदीमा आएको बाढीमा परी ज्यान गुमाउनेको संख्या १ हजार ४ सय ३ पुगेको छ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार चितवनमा ३ सय ६४, नवलपरासी पूर्वमा २ सय ३२, नवलपरासी पश्चिममा २ सय २२, नुवाकोटमा २ सय २, रसुवामा १ सय ९३, गोरखामा ७८, धादिङमा ७२ र तनहुँमा ३८ जनाको शव फेला परेको छ। उपचारका क्रममा काठमाडौंमा दुई जनाको पनि मृत्यु भएको प्राधिकरणले जनाएको छ।
फेला परेका शवमध्ये १ सय ५ जनाको सनाखत भइसकेको छ। पहिचान नखुलेका शव तथा मानव अवशेषको पहिचानका लागि डीएनए परीक्षणलगायत प्रक्रिया अघि बढाइएको छ।
प्राधिकरणका अनुसार बाढीपछि ६ हजार १ सय ५० जना अझै सम्पर्कविहीन छन्। यद्यपि सम्पर्कविहीनको विवरणमा अपरिचित शव तथा उद्धार गरिएका व्यक्तिसमेत समावेश हुन सक्ने भएकाले तथ्यांक प्रमाणीकरण भइरहेको जनाइएको छ।
बाढी प्रभावित क्षेत्रबाट हालसम्म १३ हजार ७ सय ४२ जनाको उद्धार गरिएको छ। उद्धार तथा खोजी कार्यलाई निरन्तरता दिइएको प्राधिकरणले जनाएको छ।
त्यस्तै, प्रभावित क्षेत्रमा स्वास्थ्य मन्त्रालयमार्फत १ सय ५० जना परामर्शदाता परिचालन गरिएको छ। सम्पर्कविहीन नागरिकको खोजीलाई प्राथमिकतामा राखेर खोज तथा उद्धार कार्य जारी रहेको प्राधिकरणले जनाएको छ।














प्रतिक्रिया दिनुहोस्