काठमाडौं, असोज १ । नेकपा (एमाले) का नेता प्रदीप ज्ञवालीले लामो सङ्घर्ष र बलिदानबाट निर्माण भएको संविधानलाई कुनै व्यक्ति वा शक्तिको लहडका भरमा संशोधन गर्न नसक्ने बताउनुभएको छ।
उहाँले संविधान गतिशील दस्ताबेज भएकाले आवश्यकताअनुसार संशोधन गर्न सकिने भए पनि त्यसका लागि गम्भीरता, सहमति र संवैधानिक प्रक्रिया आवश्यक रहेको धारणा राख्नुभएको छ। ज्ञवालीले दुई–दुई वटा संविधानसभाबाट लामो छलफल र कठिन प्रक्रियापछि निर्माण भएको संविधानलाई सामान्य बहुमत वा तत्कालीन राजनीतिक स्वार्थका आधारमा चलाउन नहुने बताउनुभएको हो।
“संविधान गतिशील दस्ताबेज हो, यो असंशोधनीय छैन तर लामो सङ्घर्ष र बलिदान तथा दुई–दुई वटा संविधानसभाबाट निकै कठिनाइसाथ निर्मित संविधान लहडका भरमा भने संशोधन हुन सक्दैन,” उहाँले भन्नुभएको छ।
उहाँले संसद्को नियमावलीमार्फत संविधान संशोधन गर्न नमिल्ने धारणा पनि दोहोर्याउनुभएको छ। सङ्ख्याको दम्भमा रास्वपाले संविधानमा छेडखानी गर्न खोजेको भन्दै ज्ञवालीले संविधान संशोधनजस्तो गम्भीर विषयलाई स्थापित संवैधानिक प्रक्रियाबाटै अघि बढाउनुपर्ने बताउनुभएको छ। ‘सङ्ख्याको दम्भमा संविधानमा छेडखानी गर्न खोज्नु भयो’, उहाँले सामाजिक सञ्जाल फेसबुकमा लेख्नु भएको छ ।
ज्ञवालीले संविधान संशोधन आवश्यकताअनुसार सम्भव भए पनि त्यसलाई तत्कालीन राजनीतिक परिस्थिति वा कुनै पक्षको इच्छाअनुसार गरिने सामान्य निर्णयका रूपमा लिन नहुनेमा जोड दिनुभएको छ।
हिजो सर्वोच्च अदालतले प्रतिनिधि सभा नियमावली सच्याएर प्रतिनिधि सभा मिलाएर दुईतिहाइ बहुमतबाट संविधान संशोधन गर्ने सरकारको निर्णय कार्यान्वयन नगर्न आदेश दिएको छ । अदालतले संविधान संशोधनको लागि राष्ट्रिय सभामा पनि छुट्टै दुईतिहाइ चाहिने व्याख्या गरेको छ ।
अदालतको यो व्याख्यासँगै कांग्रेस र नेकपालाई पेलेर आफ्नो अनुकूल संविधान संशोधन गर्ने रास्वपा र वर्तमान सरकारको योजना असफल भएको छ । किनकि राष्ट्रिय सभामा रास्वपाका एक जना सांसद पनि छैनन् ।














प्रतिक्रिया दिनुहोस्