जनता टाइम्स

१ आश्विन २०८३, बिहीबार १३:५३

सरकारलाई सत्तारुढ दलकै सांसदको खबरदारी : एयरपाेर्टमा सामान थुप्रिने, बाढी पीडितले राहत नपाउने स्थिति नआओस् 


काठमाडौं, असोज १ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद यज्ञमणि न्यौपानेले भोटेकोशी बाढीपीडितका लागि विदेशबाट प्राप्त राहत सामग्रीसमेत प्रभावकारी रूपमा व्यवस्थापन गर्न नसकेको भन्दै सरकारको ध्यानाकर्षण गराउनुभएको छ।

प्रतिनिधिसभाको आजको बैठकमा धारणा राख्दै न्यौपानेले बाढीपीडितका लागि विदेशीबाट प्राप्त ठुलो परिमाणको राहत सामग्री त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमै अलपत्र अवस्थामा रहेको उल्लेख गर्नुभयो। उहाँले विदेशी सहयोगबाट प्राप्त सामग्री लामो समय विमानस्थलमा थन्किँदा त्यसको सदुपयोग हुन नसक्ने र अन्ततः खेर जाने अवस्था आउन सक्नेप्रति सरकारलाई सचेत गराउनुभयो।

उहाँले विदेशी सहयोगबाट प्राप्त सामग्रीको परिमाण निकै ठुलो रहेको उल्लेख गर्दै त्यस्ता सामग्री समयमै सम्बन्धित बाढीपीडितसम्म पुर्‍याउने व्यवस्था मिलाउन आग्रह गर्नुभयो। राहत सामग्री विमानस्थलमा अलपत्र पारेर राख्दा त्यसले सरकारको राहत व्यवस्थापनप्रति नै प्रश्न उठ्ने उहाँको भनाइ थियो। उहाँले विमानस्थलमा भएको सामाग्री आधा नेपाललाई एक वर्षलाई पुग्ने दाबी गर्नुभएको छ । 

न्यौपानेले अनुसार संस्थाहरू मार्फत आएका राहत सामग्री बुझ्न जाँदा भन्सारसम्बन्धी प्रक्रिया र शुल्कको विषय आउने र उनीहरू सामान नलिई जाने गरेका पाइएको बताउनुभयो। उहाँले सरकार-सरकारबीचको समन्वयबाट आएका सामग्रीसमेत सम्बन्धित निकायमा हस्तान्तरण हुन नसकी थन्किएको बताउनुभयो।

उहाँले राहत सामग्री नलिइनुको कारण खोज्दा कतिपय सामग्रीको माग नभएको भन्ने जवाफ आउने गरेको उल्लेख गर्दै वास्तविक रूपमा बाढीपीडित नागरिकलाई आवश्यक सामग्री पहिचान गरी सोहीअनुसार वितरणको व्यवस्था मिलाउन सरकारसँग माग गर्नुभयो।

“एयरपोर्टमा राहत सामग्री अलपत्र छाड्ने, बाढीपीडित नागरिकले आवश्यक सामान नपाउने अवस्था नआओस्,” उहाँले भन्नुभयो।

न्यौपानेले विपद्का बेला प्राप्त हुने सहयोगलाई समयमै व्यवस्थापन गरी पीडित नागरिकसम्म पुर्‍याउनु सरकारको प्राथमिक दायित्व भएको उल्लेख गर्दै विमानस्थलमा थन्किएका राहत सामग्री तत्काल सम्बन्धित क्षेत्रमा पठाउने व्यवस्था मिलाउन सरकारलाई खबरदारी गर्नुभएको छ ।