काठमाडौं असाेज १ । नेकपा एमालेकी सांसद यशोदाकुमारी बरालले सरकारले नागरिकलाई खाना पकाउने ग्याँस नदिएर भोकभोकै मार्न लागेको बताउनुभएको छ ।
बिहीबारको प्रतिनिधिसभा बैठकमा बोल्दै बरालले सरकारले जनतालाई एलपी ग्यास उपलब्ध नगराएर भोकभोकै मार्न खोजेको बताउनुभयो । ‘हिटलरले ग्यास च्याम्बरमा मान्छे हालेर मारेको थियो, के बालेन्द्र सरकारले ग्याँस नदिएर जनतालाई भोकै मार्न थालेको हो ?’, उहाँले प्रश्न गर्नुभयो ।
उहाँले अहिलेको सरकार देश जलाएर त्यसको खरानीबाट बनेको पनि बताउनुभयो । ‘जनजीको रगतमा टेकेर सिंहदरबार जलाएर खरानी बनाएको संरचनामा घुँडा टेकेको हो सरकारले ? हिजोको सरकारको नैतिकता नैतिकता भन्नु हुन्थ्यो, के हो नैतिकता भनेको ? जनता मर्नु पर्ने ?’, उहाँको प्रश्न थियो ।
पहिले सरकारले काम नगरेको भन्नेहरू आफैँ सरकारमा पुग्दा अहिले यो अवस्था आउनु लज्जाजनक भएको उहाँले बताउनुभयो । उहाँले सरकारलाई जनमतको कदर गर्दै बजारमा ग्याँस अभाव हुनुको कारण खोज गरी ग्याँसको सहज आपूर्ति व्यवस्था मिलाउन सरकारलाई निर्देशन दिन सभामुखलाई अनुरोध गर्नुभयो।
उहाँले एमालेले ग्याँस लुकायो भनेर सत्तारुढ दलकै सांसदहरूले भ्रामक प्रचार गरेको भन्दै यो विषय अति लज्जास्पद भएको बताउनुभयो । उहाँले सरकारलाई नागरिकलाई मर्नबाट जोगाउन खबरदारी गर्नुभयो ।














प्रतिक्रिया दिनुहोस्