काठमाडौं, असोज १ । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टीभित्र देखिएको विभाजनको अवस्था अन्त्य गर्दै सहमति, सहकार्य र एकताका साथ अघि बढ्न नेता–कार्यकर्तालाई अपिल गर्नुभएको छ।
पार्टीका नेता तथा कार्यकर्तालाई बिहीबार अपिल जारी गर्दै डा. कोइरालाले कांग्रेसको आन्तरिक विभाजनले मुलुकको राष्ट्रियता र लोकतान्त्रिक आन्दोलनमै असर पर्न सक्ने भन्दै आसन्न दुई महाधिवेशन रोक्न र मध्यमार्गी तथा विवेकपूर्ण समझदारी खोज्न आग्रह गर्नुभएको हो।
उहाँले नेपाल अहिले मुलुकको भविष्य र अस्तित्वबारे चिन्ता उत्पन्न भएको अवस्थामा उभिएको उल्लेख गर्दै नेतृत्वले समझदारीपूर्वक सहमति र सहकार्यबाट अघि बढे राष्ट्र जोगाउन सकिने बताउनुभएको छ। “नेपाल आज त्यही चौबाटोमा उभिएको छ । मुलुकको भविष्य र अस्तित्व कहाँ पुग्ने हो भन्ने चिन्ता सिर्जना भएको छ,” डा. कोइरालाले अपिलमा उल्लेख गर्नुभएको छ।
कांग्रेसको गौरवशाली इतिहास स्मरण गर्दै उहाँले पार्टीका संस्थापक नेताहरूले पद, प्रतिष्ठा र प्रलोभनभन्दा माथि उठेर निष्ठा, आदर्श र नैतिक शक्तिसहित कांग्रेस निर्माण गरेको बताउनुभएको छ। बीपी कोइरालालगायत संस्थापक नेताहरूको राजनीतिक, नैतिक, सामाजिक तथा सांस्कृतिक जीवनदर्शनले कांग्रेसजन मात्र नभई सम्पूर्ण नेपालीलाई गौरवान्वित बनाएको उहाँको भनाइ छ।
तर, पछिल्लो समय कांग्रेसको आन्तरिक जीवनमा आएको विभाजनप्रति आफू गम्भीर रूपमा पीडित भएको उहाँले बताउनुभएको छ। “दुःखका साथ भन्नुपर्छ, यतिखेर नेपाली कांग्रेसको पटकथा कहाँबाट, कसले, कसरी लेखिरहेका छन् मलाई थाहा छैन । मलाई यसबाट पीडा छ र मेरो पीडासँग तमाम कार्यकर्ता साथीहरूको भावना जोडिएको छ,” उहाँले भन्नुभएको छ।
आसन्न दुई महाधिवेशनप्रति असन्तुष्टि व्यक्त गर्दै डा. कोइरालाले त्यसबाट मुलुकको राष्ट्रियता र लोकतान्त्रिक आन्दोलनमा आघात पुग्ने दाबी गर्नुभएको छ। “मेरो पीडा कांग्रेसको आसन्न घोषित दुई महाधिवेशनबाट यो देशको राष्ट्रियता र लोकतान्त्रिक आन्दोलनमा पर्ने आघात हो । यो रोकौँ, एउटा मध्यमार्गी र विवेकपूर्ण समझदारीको बाटो खोजौँ,” उहाँले अपिलमा भन्नुभएको छ।
उहाँले कांग्रेस अहिले विभाजित र दिशाहीनजस्तो अवस्थामा पुगेको बताउनुभएको छ। विगतमा कांग्रेसले हासिल गरेको राजनीतिक विरासत स्मरण गर्दै उहाँले अहिले पार्टी एकता कमजोर बनेकोप्रति चिन्ता व्यक्त गर्नुभएको हो। “हामीले विरासतमा पाएको कांग्रेस क्यानभास चम्कदार मात्र थिएन, अजेय पनि थियो । दुःखका साथ भन्नुपर्छ, आज हामी न अजेय छौँ, न विजय नै छौँ । हामी विभाजित, विघटनकारी र समुद्रमा गन्तव्य हराएको माझीजस्तै भएका छौँ,” उहाँले उल्लेख गर्नुभएको छ।
प्राकृतिक विपत्तिका बेला पनि कांग्रेस आन्तरिक विवादमा अल्झिन नहुने उहाँले बताउनुभएको छ। रसुवा, नुवाकोट र धादिङलगायत क्षेत्रमा भएको विपत्तिको स्मरण गर्दै उहाँले बाढीपहिरो तथा प्राकृतिक प्रकोपबाट प्रभावित नागरिकको पीडाप्रति पार्टी संवेदनशील बन्नुपर्नेमा जोड दिनुभएको छ। “नेपाली जनता रोइरहेका छन्, सर्वसाधारणहरू चाडपर्वको मुखमा परिवारका सदस्य र आफन्त गुमाएर चेतनाशून्य भएर बसेका छन् । उनीहरूको दर्द र पीडा किन हामी बुझ्न सकिरहेका छैनौँ ? हामी के गर्दैछौँ ?” उहाँले प्रश्न गर्नुभएको छ।
कानुन र विधानका प्रावधानभन्दा मानवीय संवेदनालाई प्राथमिकतामा राख्नुपर्ने धारणा राख्दै उहाँले कांग्रेसले सहमति, सहकार्य र एकताका माध्यमबाट पीडित नागरिकको घाउमा मल्हम लगाउने भूमिका निर्वाह गर्नुपर्ने बताउनुभएको छ।
आफू कांग्रेस विभाजनबाट खुसी हुन नसक्ने स्पष्ट पार्दै डा. कोइरालाले पार्टीभित्र कसैलाई हराएर र कसैलाई जिताएर प्राप्त हुने विजयलाई कांग्रेसको संस्कारसँग जोड्न नसकिने बताउनुभएको छ। “म कांग्रेस विभाजनबाट रोमाञ्चित हुनै सक्दिनँ । म को ठीक, को बेठिक भनेर वकालत कसरी गर्न सक्छु ? कांग्रेस हुँ भन्ने तर आफ्नै साथीभाइमाथि असुरक्षा, अपमान र घृणा पैदा गरेर निर्माण गरिने कांग्रेसको महलमाथि म बस्न सक्दिनँ,” उहाँले भन्नुभएको छ।
उहाँले कांग्रेसभित्रको विवाद समाधानका लागि आफू मध्यमार्गी बाटोको पक्षमा रहेको बताउनुभएको छ। मध्यमार्ग कठिन भए पनि त्यही बाटो कांग्रेसको जीवनदर्शन भएको उहाँको भनाइ छ। “मलाई थाहा छ, मध्यमार्ग कठिन मार्ग हो । मलाई यो पनि थाहा छ, यही मार्ग सत्यको बाटो हो । यही मार्ग कांग्रेसको मार्ग हो र यही मार्ग कांग्रेसको जीवनदर्शन हो,” उहाँले उल्लेख गर्नुभएको छ।
कुनै व्यक्ति वा पक्षमाथि आरोप–प्रत्यारोप गर्ने आफ्नो उद्देश्य नरहेको बताउँदै डा. कोइरालाले कांग्रेसको सफलता सबैको एकताबद्ध प्रयासबाट मात्रै सम्भव हुने धारणा राख्नुभएको छ।
उहाँले कांग्रेसजनमा एकताको सम्भावना अझै जीवित रहेको विश्वास व्यक्त गर्दै भन्नुभएको छ, “हाम्रो विवेक मरेको छ भन्ने कुरामा म किमार्थ विश्वास गर्दिनँ । हामी उठ्छौँ, जुट्छौँ र जित्छौँ।”
पार्टीलाई एकताबद्ध राख्ने अभियानमा गाउँ–टोलदेखि केन्द्र तथा विदेशमा रहेका कांग्रेसका नेता–कार्यकर्तालाई समेत सहभागी हुन आग्रह गर्दै उहाँले कांग्रेस एकता र राष्ट्र निर्माणको अभियानलाई अलग–अलग रूपमा बुझ्न नसकिने बताउनुभएको छ। “कांग्रेस एकता र राष्ट्र निर्माणको अभियानलाई म फरक रूपमा बुझ्न सक्दिनँ,” उहाँले अपिलमा भन्नुभएको छ। साथै, पार्टी एकताको सन्देश लिएर आफू निरन्तर नेता–कार्यकर्तामाझ पुगिरहने उहाँले प्रतिबद्धता व्यक्त गर्नुभएको छ।














प्रतिक्रिया दिनुहोस्