जनता टाइम्स

१ आश्विन २०८३, बिहीबार १५:१८

फरक मत राखेकै आधारमा सांसदलाई ‘लतार्ने–घिसार्ने’ धम्की ! सत्तारुढ दलकै महामन्त्रीले मागे सुरक्षा


काठमाडौं, असोज १ । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का महामन्त्री एवं प्रतिनिधिसभा सदस्य विपिनकुमार आचार्यले फरक विचार राखेकै आधारमा सांसदहरूलाई भौतिक आक्रमणको धम्की दिनेहरूमाथि कानुनी कारबाही गर्न सरकारसँग माग गर्नुभएको छ। संघीय संसद्को अभिलेखअनुसार आचार्य दाङ–२ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य तथा रास्वपाका महामन्त्री हुनुहुन्छ।

प्रतिनिधिसभाको बिहीबारको बैठकमा बोल्दै महामन्त्री आचार्यले नेपालको संविधानले अभिव्यक्ति स्वतन्त्रतालाई मौलिक हकका रूपमा सुनिश्चित गरेको उल्लेख गर्दै फरक विचार राख्ने सांसदलाई धम्की दिनु स्वीकार्य नहुने बताउनुभएको हो।  

उहाँले फरक मत राखेकै कारण सांसदहरू विरुद्ध सिंहदरबारको गेटअगाडि लतार्ने, घिसार्ने, घर जलाउने तथा रक्तपात मच्चाउनेजस्ता धम्की आउनु अभिव्यक्ति स्वतन्त्रतामाथिको ठाडो प्रहार भएको बताउनुभयो। “फरक विचार राखेकै कारण सांसदहरू विरुद्ध खुल्लमखुल्ला सिंहदरबारकै गेट अगाडि लतार्ने, घिसार्ने, घर जलाउने र रक्तपात मच्चाउनेजस्ता प्रथम दृष्टिमै खारेज योग्य धम्की आउनु अभिव्यक्ति स्वतन्त्रतामाथिको ठाडो प्रहार हो,” उहाँले भन्नुभयो।

यस्ता धम्की दिने व्यक्तिहरूलाई कानुनी कारबाहीको दायरामा ल्याउन आफूले गृहमन्त्री र प्रधानमन्त्री कार्यालयलाई आग्रह गरिसकेको पनि महामन्त्री आचार्यले जानकारी गराउनुभयो। “यी अतिवादी धम्की दिनेलाई कानुनी कारबाहीको दायरामा ल्याइयोस् भनेर मैले गृहमन्त्री र प्रधानमन्त्री कार्यालयलाई अनुरोध गरिसकेको छु,” उहाँले भन्नुभयो।

महामन्त्री आचार्यले सांसदहरूलाई आफ्नो धारणा निर्भीक रूपमा राख्न सक्ने वातावरण निर्माण गर्न संसद् र नेतृत्वको ध्यानाकर्षणसमेत गराउनुभयो। उहाँले तथ्यमा आधारित भएर बोल्ने सांसदहरूलाई डरमुक्त वातावरण दिनुपर्नेमा जोड दिनुभयो। “म चाहन्छु, यस सम्मानित संसद्ले तथ्यमा टेकेर बोल्ने आफ्ना हरेक सांसदलाई साहस देओस् र भनोस्– ‘बोल्न नडराउनु, हामी तिमीसँगै छौँ’,” उहाँले भन्नुभयो।

पछिल्लो समय रास्वपाकी संसदीय दलकी सचेतक क्रान्तिशिखा धितालले जेनजी दिवसको दिन आयोजित कार्यक्रममा विवादित धर्मगुरुलाई राखिएको लगायतका विषयलाई लिएर असन्तुष्टि जनाउनुभएको थियो । धितालको अभिव्यक्तिमा आपत्ति जनाउँदै जेनजी सहिदका परिवारका नामा उहाँलाई सदनबाट घिसार्ने चेतावनी दिएका थिए । जसमा रास्वपाकै प्रधानमन्त्री बालेन्द्र साह र गृहमन्त्री सुधन गुरुङका कार्यकर्ताहरू रहेका बताइएको छ ।