जनता टाइम्स

१ आश्विन २०८३, बिहीबार १७:२८

देउवा समूह सानेपा फर्किएपछि कांग्रेसमा नयाँ समीकरण : गगनले भने– अब अगाडि–पछाडिको लाइन हुँदैन


काठमाडौं, असोज १ । नेपाली कांग्रेसभित्र लामो समयदेखि देखिएको विभाजन र समानान्तर गतिविधिबीच बिहीबार सानेपामा देखिएको राजनीतिक दृश्यले पार्टीको आन्तरिक समीकरणमा नयाँ मोड ल्याएको छ। पूर्वसभापति शेरबहादुर देउवानिकट नेताहरू ठूलो संख्यामा सभापति गगन थापा नेतृत्वको केन्द्रीय कार्यसमिति बैठकमा सहभागी भएपछि कांग्रेसभित्र समायोजन र एकताको प्रक्रिया अघि बढेको संकेत देखिएको हो।

विशेष महाधिवेशनपछि अलग्गिएको देउवा समूहका नेताहरूलाई समेट्दै सभापति थापाले केन्द्रीय समितिको बैठकमा सहभागी गराउनुभएको हो। १४औँ महाधिवेशनबाट निर्वाचित देउवानिकट ५१ जना नेताहरूलाई समायोजन गर्ने निर्णयपछि उनीहरू पहिलोपटक सानेपास्थित पार्टी कार्यालयमा आयोजित बैठकमा सहभागी भएका हुन्।

बैठकलाई सम्बोधन गर्दै सभापति थापाले पार्टीलाई एकताबद्ध बनाउन आफूले सक्ने सबै प्रयास गर्ने बताउनुभएको छ। उहाँले पूर्वसभापति देउवासहित सबै पूर्वपदाधिकारीलाई आगामी अधिवेशनमा सहभागी हुन आग्रह गर्नुभएको छ।

सभापति थापाले पूर्णबहादुर खड्काले राख्नुभएको आठबुँदे र डा. शेखर कोइरालाले राख्नुभएको पाँचबुँदे माग सम्बोधन भइसकेको बताउनुभएको छ। त्यसैगरी, उहाँले असोज ३ र ४ गते हुने वडा अधिवेशनको उद्घाटन गर्न पूर्वसभापति देउवालाई आग्रह गर्नुभयाे । “उहाँले आएर वडा अधिवेशनको उद्घाटन गरिदिनुभयो भने हाम्रो लागि ठूलो सम्मानको विषय हुनेछ,” सभापति थापाले भन्नुभयाे। 

उहाँले पार्टी विधानअनुसार अब देउवा सभापतिको उम्मेदवार बन्ने अवस्था नरहेको पनि बताउनुभयाे । थापाले विशेष महाधिवेशनमा सहभागी भएका र नभएका आधारमा अब कांग्रेसभित्र कुनै विभाजन नरहने स्पष्ट पार्नुभयाे । “को विशेषमा थियौँ, को थिएनौँ, को अगाडि, को पछाडि भन्ने लाइन अब हुँदैन, यो मेट्नुपर्छ, मेट्छौँ,” उहाँले बैठकमा भन्नुभयाे । 

देउवाका विश्वासपात्र नै गगन नेतृत्वको बैठकमा

सानेपामा बिहीबार देखिएको अर्को महत्वपूर्ण दृश्य देउवाका निकट मानिएका नेताहरूको सहभागिता रह्यो। मीनबहादुर विश्वकर्मा, महालक्ष्मी उपाध्याय ‘डिना’, ज्ञानेन्द्रबहादुर कार्की, रामहरि खतिवडा, नैनसिंह महरसहितका नेताहरू बैठकमा सहभागी हुनुभएको छ। देउवा पक्षबाट करिब ५० देखि ५१ जना नेता बैठकमा सहभागी हुने जानकारी यसअघि दिइएको थियो।

त्यसमध्ये मीनबहादुर विश्वकर्माले देउवालाई अब पार्टीको ‘सर्वोच्च नेता’का रूपमा स्थापित गर्ने प्रयास भइरहेको बताउनुभयाे । “अहिले उहाँ नेपाली कांग्रेसको सर्वोच्च नेता हुनुहुन्छ । उहाँको सभापति रहेको दाबी छ, हामी उहाँलाई सर्वोच्च नेतामा रूपान्तरण गर्ने प्रयत्न गरिरहेका छौँ,” विश्वकर्माले भन्नुभयाे।

विश्वकर्माले आफूहरूले देउवालाई धोका नदिएको दाबीसमेत गर्नुभएको छ। देउवाको दोस्रो कार्यकालको अवधि सकिन लागेको र नेतृत्व हस्तान्तरण स्वाभाविक प्रक्रिया भएको उहाँको भनाइ छ। “देउवा अहिले कुनै पनि पदको उम्मेदवार हुनुहुन्न । उहाँको दोस्रो कार्यकालको अवधि पनि मंसिरमा सकिँदैछ र उहाँले कुनै न कुनै नेतालाई नेतृत्व हस्तान्तरण गर्नु नै हुनेछ,” उहाँले भन्नुभयाे।

आफूहरू व्यक्तिभन्दा पनि पार्टीको आधिकारिकता, रुख चिह्न र चारतारे झण्डालाई बलियो बनाउन गगन नेतृत्वको बैठकमा सहभागी भएको उहाँले बताउनुभयाे । 

विश्वकर्माले आफूहरूले अघि सारेका मागहरू सम्बोधन हुने क्रममा रहेकाले बैठकमा सहभागी भएको बताउनुभयाे । उहाँले १५औँ महाधिवेशनलाई ‘एकताको महाधिवेशन’ बनाउनुपर्नेमा जोड दिनुभयाे । “रुख चिह्न, चारतारे झण्डा र आधिकारिक कांग्रेसलाई बलियो बनाउन हामी यहाँ आएका हौँ,” उहाँले भन्नुभयाे । 

विश्वकर्माले आगामी दिनमा केन्द्रीय समितिका ठूलो संख्याका सदस्यहरू गगन नेतृत्वको संरचनामा समाहित हुने दाबीसमेत गर्नुभयाे । । उहाँका अनुसार ३१ जनाबाट सुरु भएको समायोजनको प्रक्रिया ५१ जनासम्म पुगेको छ र महाधिवेशनमा ९० प्रतिशत नेता–कार्यकर्ता सहभागी हुने अपेक्षा गरिएको छ।

विशेष महाधिवेशनपछि अलग–अलग गतिविधिमा रहेका नेताहरू एकै ठाउँमा देखिनुलाई कांग्रेसको आन्तरिक विवाद समाधानतर्फको महत्वपूर्ण घटनाका रूपमा हेरिएको छ। देउवा पक्षका नेताहरू सानेपा फर्किएसँगै समानान्तर महाधिवेशनको तयारीमा रहेको समूहभित्रसमेत नयाँ परिस्थितिको सिर्जना भएको छ।

सानेपामा देखिएको आजको उपस्थितिले भने लामो समयदेखि अलग देखिएका कांग्रेसका दुई धारबीच संवाद र समायोजनको ढोका खुलेको सन्देश दिएको छ। अब यो उपस्थितिले संगठनात्मक एकताको रूप लिन्छ वा महाधिवेशनको प्रक्रियासम्म मात्र सीमित रहन्छ भन्ने विषय आगामी दिनमा स्पष्ट हुँदै जानेछ।