काठमाडौं, असोज १ । नेकपा (एमाले) ले नेपालको संविधान २०७२ को रक्षा, कार्यान्वयन तथा संवैधानिक व्यवस्थाको सुदृढीकरणको सन्देशसहित संविधान दिवस भव्य र प्रभावकारी रूपमा मनाउने तयारी गरेको छ।
संविधान दिवसका अवसरमा देशभर विभिन्न रचनात्मक कार्यक्रम सञ्चालन गर्ने निर्णय एमालेले गरेको छ। यसका लागि पार्टीका प्रदेश, जिल्ला तथा पालिका कमिटीहरूलाई आ–आफ्नो क्षेत्रको स्थानीय विशेषता र आवश्यकताअनुसार कार्यक्रम आयोजना गर्न निर्देशन दिइएको छ।
एमाले केन्द्रीय कार्यालयमा भएको संविधान दिवस तयारीसम्बन्धी बैठकले असोज ३ गते बिहान ८ः३० बजे पार्टी केन्द्रीय कार्यालय च्यासलको प्राङ्गणमा विशेष कार्यक्रम आयोजना गर्ने निर्णय गरेको छ। उक्त कार्यक्रममा पार्टी अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गर्ने कार्यक्रम रहेको छ।
महासचिव शंकर पोखरेलले बिहीबार प्रदेश, जिल्ला तथा पालिका कमिटीलाई पत्राचार गर्दै संविधान दिवसलाई रचनात्मक, भव्य र उत्साहपूर्ण रूपमा मनाउन निर्देशन दिनुभएकाे छ। उहाँले संविधानको रक्षा र संवैधानिक व्यवस्थाप्रति जनचेतना अभिवृद्धि हुने गरी विभिन्न कार्यक्रम सञ्चालन गर्न आग्रह गर्नुभएकाे छ।
एमालेले मातहतका कमिटीहरूलाई प्रभातफेरी, दीपप्रज्वलन, विचार गोष्ठी, सरसफाइ तथा अन्य रचनात्मक कार्यक्रम आयोजना गर्न भनेको छ। पोखरेलले पठाएको पत्रमा भनिएको छ, ‘आ–आफ्नो क्षेत्र र स्तरमा संविधानको रक्षाको सन्देशसहित प्रभातफेरी, दीपप्रज्वलन, विचार गोष्ठी, सरसफाइ तथा अन्य रचनात्मक कार्यक्रमहरूको आयोजना गरी संविधान दिवसलाई सफल बनाउनुहुन अनुरोध छ।’
त्यस्तै, एमालेसम्बद्ध विद्यार्थी संगठन, ट्रेड युनियनलगायत जनसंगठनहरूले पनि आफ्ना मौलिक नारासहित विभिन्न कार्यक्रम सञ्चालन गर्ने भएका छन्। केन्द्रदेखि स्थानीय तहसम्म पार्टी कमिटी तथा जनसंगठनलाई परिचालन गरी संविधान दिवसलाई राष्ट्रिय महत्त्वका साथ मनाउने तयारी एमालेले गरेको हो।
एमालेले संविधान दिवसको कार्यक्रममार्फत संविधानको संरक्षण तथा पूर्ण कार्यान्वयनप्रति आफ्नो प्रतिबद्धता प्रस्तुत गर्ने जनाएको छ। साथै संवैधानिक व्यवस्थाको सुदृढीकरण र संविधानप्रतिको जनविश्वास अभिवृद्धिलाई कार्यक्रमको प्रमुख उद्देश्य बनाइएको छ।
च्यासलमा हुने विशेष समारोहलाई एमालेले संविधान दिवसको केन्द्रीय कार्यक्रमका रूपमा अघि सारेको छ। उक्त कार्यक्रममा अध्यक्ष ओलीको सम्बोधनमार्फत संविधान, संवैधानिक व्यवस्था तथा मुलुकको समसामयिक राजनीतिक विषयमा पार्टीको धारणा सार्वजनिक हुने अपेक्षा गरिएको छ।
यससँगै प्रदेश, जिल्ला र पालिका तहसम्म कार्यक्रम सञ्चालन गर्ने तयारीले संविधान दिवसलाई संगठनको तल्लो तहसम्म पुर्याउने एमालेको योजना देखिन्छ। स्थानीय आवश्यकता र विशेषताअनुसार कार्यक्रम गर्न दिइएको निर्देशनले संविधान दिवसलाई केवल औपचारिक कार्यक्रमका रूपमा नभई जनस्तरसम्म जोड्ने प्रयासका रूपमा अघि बढाइएको पार्टीले जनाएको छ।












प्रतिक्रिया दिनुहोस्