काठमाडौं, असाेज २ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनको तयारीसम्बन्धी बैठकमा सहभागी हुन रामेछापको मन्थली आएका नेपाली कांग्रेस नेता भरत चौलागाईं रकम असुलीको आरोपमा प्रहरीले पक्राउ गरेकाे छ ।
केन्द्रीय प्रहरी अनुसन्धान ब्यूरो (सीआईबी)ले चौलागाईंलाई बिहीबार साँझ मन्थलीबाट नियन्त्रणमा लिएको हो। उच्च पदस्थ व्यक्तिहरूको नाम प्रयोग गरी रकम असुली गरेको आरोपमा उनलाई पक्राउ गरिएको सीआईबीले जनाएको छ। सीआईबीका एआईजी उमाप्रसाद चतुर्वेदीका अनुसार रकम असुलीका लागि कुराकानी तथा डिल गरेको भनिएको अडियोसमेत अनुसन्धानका क्रममा फेला परेको छ। प्रारम्भिक अनुसन्धानका क्रममा केही प्रमाण भेटिएपछि त्यसको सत्यापन तथा घटनाबारे थप अनुसन्धान गर्न उनलाई नियन्त्रणमा लिइएको चतुर्वेदीले जानकारी दिनुभयो।
चौलागाईं नेपाली कांग्रेसको संस्थापन पक्षमा रहनुभएका नेता तथा पार्टीका महाधिवेशन प्रतिनिधिसमेत हुन्। कांग्रेसको १५औँ महाधिवेशनको तयारीका लागि मन्थलीमा आयोजित बैठकमा सहभागी हुन पुग्नुभएका उनलाई सीआईबीले त्यही क्रममा नियन्त्रणमा लिएको हो।
पक्राउपछि चौलागाईंलाई काठमाडौं ल्याई घटनासम्बन्धी थप अनुसन्धान अघि बढाइने सीआईबीले जनाएको छ।
रकम असुलीसम्बन्धी आरोपबारे अनुसन्धान जारी रहेकाले घटनाको वास्तविकता थप अनुसन्धान तथा प्रमाण परीक्षणपछि स्पष्ट हुने सीआईबीको भनाइ छ।












प्रतिक्रिया दिनुहोस्