जनता टाइम्स

२ आश्विन २०८३, शुक्रबार २०:२५

आफैँ उदाहरण बनेर आफ्नै पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गरौँ : प्रधानमन्त्री बालेनद्र शाह


काठमाडौं, असोज २ । प्रधानमन्त्री वालेन्द्र शाहले जेन्जी उमेर समूहका सांसदहरूलाई आफैँ उदाहरण बनेर नवीन सोचका साथ आफ्नै पुस्ताका लागि स्वदेशमै रोजगारी तथा अवसर सिर्जना गर्न आग्रह गर्नुभएको छ।

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज जेन्जी उमेर समूहका सांसदहरूसँग आयोजित अन्तरक्रियामा प्रधानमन्त्री शाहले जनजीविकाका आधारभूत समस्या समाधान गर्नुका साथै त्यसबाट अझ अगाडि बढेर आफ्नो पुस्तालाई आत्मनिर्भर बनाउन अग्रसर हुनुपर्ने बताउनुभएको हो।

प्रधानमन्त्रीले त्यसका लागि स्थलगत अध्ययन तथा अनुसन्धानलाई प्राथमिकता दिन, सूचना–प्रविधिको उच्चतम प्रयोग गर्न, समस्या समाधानमुखी व्यवहार अवलम्बन गर्न तथा पुराना र अव्यावहारिक सोच त्याग्न सुझाव दिनुभयाे । 

उहाँले राजनीतिलाई मात्र पेशा नबनाई आम्दानीको छुट्टै व्यावसायिक आधार निर्माण गर्नुपर्नेमा जोड दिनुभयाे। दीर्घकालीन रूपमा आत्मनिर्भर बन्न सके त्यसले आफ्नै पुस्ताका लागि प्रेरणाको स्रोत बन्न सहयोग पुग्ने उहाँको भनाइ थियो।

अन्तरक्रियामा सहभागी जेन्जी उमेर समूहका सांसदहरूले प्रधानमन्त्रीको आग्रहलाई अभिभावकीय मार्गदर्शनका रूपमा लिँदै आफ्नै पुस्तालाई आत्मनिर्भर बनाउन तथा स्वदेशमै रोजगारी र अवसर सिर्जना गर्ने कार्यमा सक्रियतापूर्वक जुट्ने प्रतिबद्धता व्यक्त गर्नुभयाे ।