जनता टाइम्स

२ आश्विन २०८३, शुक्रबार २१:२९

भ्रममा नपरौँ, एकताबद्ध एमाले अझ ऊर्जाका साथ अघि बढ्दैछ : महेश बस्नेत


काठमाडौं, असोज २ । नेकपा (एमाले)का सचिव महेश बस्नेतले पार्टी विभाजन हुने, एमाले–नेकपा एकता हुने तथा पार्टीको नेतृत्व र चुनाव चिह्न परिवर्तन हुनेलगायतका विषयमा फैलाइएका हल्ला भ्रमपूर्ण रहेको बताउनुभएको छ।

सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै सचिव बस्नेतले एमाले एकताबद्ध रहेको र अझ ऊर्जा तथा उत्साहका साथ अघि बढ्ने बताउनुभएको हो।

उहाँका अनुसार असोज ३ गते निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलले आफ्नो प्रतिवेदनलाई एकरूपता दिनेछ। त्यसपछि असोज ४ गते सचिवालय बैठक बसेर केन्द्रीय कमिटी बैठकका एजेण्डा तय गर्ने तथा असोज ५, ६ र ७ गते केन्द्रीय कमिटीको बैठक बस्ने कार्यतालिका रहेको छ।

यही प्रक्रियालाई लिएर केही सञ्चारमाध्यम तथा सामाजिक सञ्जालमा ‘एमाले विभाजन हुँदैछ’, ‘एमाले–नेकपा मिल्दैछ’, ‘अध्यक्ष र महासचिव अमूक व्यक्ति हुँदैछन्’ तथा ‘सूर्य चिह्न र एमाले नाम नै नरहन सक्छ’ जस्ता समाचार तथा हल्ला फैलाइएको उहाँको भनाइ छ।

एमालेलाई कमजोर बनाउने नियोजित  योजनाअन्तर्गत यस्ता भ्रम फैलाइएको दाबी गर्दै सचिव बस्नेतले त्यसको पछि नलाग्न आग्रह गर्नुभएको छ।उहाँले केन्द्रीय कमिटीको बैठकपछि एमाले वर्तमान चुनौतीको सशक्त सामना गर्दै अझ मजबुत, एकताबद्ध र ऊर्जाशील भएर अघि बढ्ने दाबी गर्नुभएको छ।  ‘केन्द्रीय कमिटीको बैठकपछि नेकपा (एमाले) वर्तमान चुनौतीको सशक्त सामना गर्दै अझ मजबुत, एकताबद्ध र ऊर्जाशील भएर अघि बढ्नेछ’, बस्नेतले भन्नुभएकाे छ । 

सचिव बस्नेतले बालेन नेतृत्वको सरकारप्रति आलोचनात्मक धारणा राख्दै त्यसविरुद्ध लोकतान्त्रिक संघर्षलाई सशक्त बनाउने बताउनुभएको छ। मुलुकको राजनीतिक कोर्षलाई सही दिशामा अघि बढाउने अभियानमा एमाले दृढताका साथ उभिने र नयाँ ऊर्जा तथा उत्साहका साथ जनताको बीचमा आउने उहाँको भनाइ छ।