काठमाडौं, असोज ३ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नेपालको संविधान, संवैधानिक व्यवस्था र संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षाका लागि संविधानका पक्षधर शक्तिहरू एक ठाउँमा उभिनुपर्ने बताउनुभएको छ।
संविधान दिवस–२०८३ का अवसरमा शुभकामना सन्देश जारी गर्दै अध्यक्ष ओलीले संविधान निर्माणको ऐतिहासिक पृष्ठभूमि, संविधानले सुनिश्चित गरेका नागरिकका मौलिक अधिकार तथा पछिल्लो राजनीतिक परिस्थितिबारे आफ्नो धारणा सार्वजनिक गर्नुभएको हो।
अध्यक्ष ओलीले नेपाल राष्ट्रको महान् उत्सवका रूपमा रहेको संविधान दिवसका अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपालीमा पार्टीका तर्फबाट हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्नुभएको छ। उहाँले संविधान निर्माणका क्रममा भएका ऐतिहासिक संघर्षका शहीदहरूप्रति भावपूर्ण श्रद्धाञ्जलीसमेत अर्पण गर्नुभएको छ।
उहाँले नेपालको संविधान नेपाली जनताको दशकौँ लामो बलिदानीपूर्ण संघर्षको जगमा जननिर्वाचित संविधानसभाबाट बनेको पहिलो ऐतिहासिक संविधान भएको उल्लेख गर्नुभएको छ।“जनताको प्रत्यक्ष सहभागिता र स्वामित्वमा यो संविधान निर्माण भएको हो,” अध्यक्ष ओलीले भन्नुभएको छ, “प्रमुख दलहरूबीच उच्चस्तरको समझदारीमा अनेक प्रतिकूलता र चुनौतीहरूलाई चिर्दै संविधानसभाले यो संविधान जारी गर्न सफल भएको थियो।”
संविधान निर्माणका क्रममा मुलुकले भोगेका कठिन, कष्टकर र चुनौतीपूर्ण घटनाक्रमहरूलाई स्मरण गर्दै अध्यक्ष ओलीले संविधान निर्माण र जारी गर्ने समयमा नेपाल राष्ट्र र नेपाली जनताले ठूलो मूल्य चुकाउनुपरेको बताउनुभएको छ। उहाँले संविधान जारी भएपछि मुलुकले नाकाबन्दीजस्तो अत्यन्त ठूलो कठिनाइको सामना गर्नुपरेको स्मरण गर्दै त्यस्ता चुनौतीका बीच संविधानको रक्षा र संविधानमा एकताबद्ध हुनुपर्ने अवस्था सिर्जना भएको उल्लेख गर्नुभएको छ। अध्यक्ष ओलीले भन्नुभएको छ, “संविधान निर्माणका ती कठिन घडीलाई डटेर सामना गर्दै अत्यन्त छोटो समयमा हाम्रो पार्टी नेतृत्वको सरकारले सफलतापूर्वक कानुन निर्माण र संरचनात्मक विकासमार्फत यस संविधानलाई कार्यान्वयनको चरणमा लगेको थियो।”
उहाँका अनुसार संविधानले परिकल्पना गरेका विकास निर्माणका कार्यलाई बहुआयामिक ढंगले अघि बढाइएको थियो।
अध्यक्ष ओलीले नेपालको संविधानले गणतन्त्रलाई संस्थागत गर्दै नेपाली जनतालाई पूर्ण रूपमा सार्वभौमसत्ता सम्पन्न बनाएको बताउनुभएको छ।
संविधानले नेपाललाई संघीय लोकतान्त्रिक गणतन्त्रात्मक राज्यका रूपमा संस्थागत गरेको उल्लेख गर्दै उहाँले सरकारका तीन तह–संघ, प्रदेश र स्थानीय तहबीच अधिकारको स्पष्ट बाँडफाँट गरेको बताउनुभएको छ। उहाँले राज्यका सबै अङ्गमा समानुपातिक, समावेशी र सहभागितामूलक प्रणालीलाई आत्मसात् गरिएको उल्लेख गर्नुभएको छ।
नागरिक स्वतन्त्रता, शिक्षा, स्वास्थ्य, रोजगारी, खाद्य सम्प्रभुता र आवासको अधिकारलगायत ३१ वटा मौलिक अधिकार संविधानले सुनिश्चित गरेको उल्लेख गर्दै अध्यक्ष ओलीले ती अधिकारलाई व्यवहारमा कार्यान्वयन गर्न राज्य बलियो र समृद्ध हुनुपर्ने बताउनुभएको छ। “संविधानले प्रत्याभूत गरेका मौलिक हकलाई व्यवहारमा लैजान सक्ने सामर्थ्य निर्माण गर्दै समाजवादको दिशामा अघि बढ्ने सङ्कल्पसहित हाम्रो पार्टीले ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय गन्तव्य निर्धारण गरेको छ,” उहाँले भन्नुभएको छ।
अध्यक्ष ओलीले नेपालको संविधानप्रति आफूहरू गौरवान्वित रहेको बताउँदै यो संविधान कुनै देशको उपनिवेश नबनेको, स्वतन्त्र, अविभाज्य र सार्वभौमसत्ता सम्पन्न मुलुकका नागरिकबाट जारी भएको उल्लेख गर्नुभएको छ। उहाँले संविधान दिवसलाई एमालेले राष्ट्रिय पर्वका रूपमा नागरिकस्तरमा मनाउँदै आएको पनि बताउनुभएको छ।
शुभकामना सन्देशमा अध्यक्ष ओलीले पछिल्लो राजनीतिक घटनाक्रमप्रति गम्भीर असन्तुष्टि व्यक्त गर्नुभएको छ। उहाँले गत वर्ष राज्यका प्रमुख धरोहरमाथि विध्वंसकारी आक्रमणको दुःखद घटनापछि नेपालको संविधान, संवैधानिक व्यवस्था र लोकतन्त्रमाथि गम्भीर संकट पैदा भएको दाबी गर्नुभएको छ।
अध्यक्ष ओलीले जननिर्वाचित सरकार र प्रतिनिधिसभा गैरसंवैधानिक तरिकाले विघटन गरिएको आरोप लगाउँदै त्यसपछि बनेको सरकार संविधान र कानुनी राज्यको मान्यताविपरीत स्वेच्छाचारी ढंगले अघि बढिरहेको दाबी गर्नुभएको छ। “राज्यका संवैधानिक र संस्थागत संरचनाहरूलाई स्वेच्छाचारिताको बुटले कुल्चिरहेको छ,” उहाँले भन्नुभएको छ।
उहाँले राज्यका विभिन्न अङ्गमा ‘गैरराजनीतिक’ र ‘प्रोफेसनल’ व्यक्ति छनोट गर्ने नाममा थप राजनीतिकरण गरिएको आरोप लगाउनुभएको छ। जनतालाई छान्ने होइन, मनलाई छान्ने नीति बनाएर स्वेच्छाचारी ढंगले अन्धाधुन्ध राजनीतिक नियुक्ति दिने काम भइरहेको पनि उहाँको दाबी छ। अध्यक्ष ओलीले यसबाट लोकतान्त्रिक राज्यको संवैधानिक मान्यतामाथि प्रहार भएको बताउनुभएको छ।
अध्यक्ष ओलीले वर्तमान सरकारले नेपाल राज्यलाई भू–राजनीतिक द्वन्द्वको क्रिडास्थल बनाउनेगरी बाह्य शक्तिकेन्द्रको गोटी बनिरहेको दाबी गर्नुभएको छ। “वर्तमान सरकारले नेपाल राज्यलाई भू–राजनीतिक द्वन्द्वको क्रिडास्थल बनाउनेगरी बाह्य शक्तिकेन्द्रको गोटी बनेर उनीहरूको स्वार्थअनुरूप काम गरिरहेको अनुभूति भइरहेको छ,” उहाँले भन्नुभएको छ।
यस्तो परिस्थितिले पनि संविधानको रक्षा गम्भीर र महत्वपूर्ण विषय बन्न पुगेको उहाँको भनाइ छ। उहाँले मुलुकलाई यस्तो परिस्थितिबाट जोगाउन संविधानका पक्षधर शक्तिहरू एक ठाउँमा उभिनुपर्नेमा जोड दिनुभएको छ। “मुलुकलाई यस्तो परिस्थितिबाट जोगाउन संविधानका पक्षधर शक्तिहरू एक ठाउँमा उभिएर संविधान र संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा गर्नुपर्ने भएको छ,” अध्यक्ष ओलीले भन्नुभएको छ।
अध्यक्ष ओलीले संविधानद्वारा परिलक्षित लोकतान्त्रिक मूल्य–मान्यता, सामाजिक न्याय र समृद्धिको लक्ष्य हासिल गर्न अघि बढ्न आह्वान गर्नुभएको छ।














प्रतिक्रिया दिनुहोस्