जनता टाइम्स

३ आश्विन २०८३, शनिबार ०८:०८

वैदेशिक रोजगारी ठगीको आरोपमा कांग्रेस नेता चौलागाईं र पत्रकार नेता शिवाकोटी पक्राउ


काठमाडौं, असोज ३ । वैदेशिक रोजगारीका नाममा ठगी गरेको आरोपमा नेपाली कांग्रेसका नेता भरत चौलागाईं र कांग्रेससम्बद्ध नेपाल प्रेस युनियनकी केन्द्रीय सदस्य बालिका शिवाकोटी पक्राउ परेका छन्।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)का अनुसार प्रधानमन्त्रीका प्रमुख सल्लाहकारको नाम तथा पद दुरुपयोग गर्दै उनीहरूले इजरायलमा केयर गिभरका रूपमा पठाइदिने भन्दै रकम उठाएको आरोप छ।

नेपाल सरकार र इजरायल सरकारबीच भएको जीटुजी सम्झौताअनुसार इजरायलमा केयर गिभरका लागि छनोटमा नपरेका व्यक्तिहरूलाई समेत इजरायल पठाइदिने भन्दै उनीहरूले रकम लिएको सीआईबीले जनाएको छ।

सीआईबीका अनुसार उनीहरूले इजरायल जान लक्की ड्रमा छनोटमा नपरेका १५६ जनाबाट प्रतिव्यक्ति ६ लाख २० हजार रुपैयाँका दरले रकम उठाएका थिए। उनीहरूले सबैबाट गरी करिब २ करोड ५० लाख रुपैयाँ ठगी गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।

पक्राउ पर्नेमा रामेछापको सुनापति गाउँपालिका–१ घर भएका ५९ वर्षीय चौलागाईं र दोलखाको कालिञ्चोक गाउँपालिका–८ घर भएकी ३२ वर्षीया शिवाकोटी रहेको सीआईबीका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक अनुपमशम्शेर जबराले जानकारी दिनुभएको छ।

उनीहरूविरुद्ध ठगीसम्बन्धी कसुरमा अनुसन्धान भइरहेको सीआईबीले जनाएको छ।