काठमाडौं, असोज ३ । प्रधानमन्त्री बालेन्द्र साह ‘बालेन’ले संविधान जति राम्रो भए पनि त्यसलाई कार्यान्वयन गर्ने हात इमानदार र निरन्तर क्रियाशील हुन नसके संविधान कागजको खोस्टामा सीमित हुने बताउनुभएको छ।
संविधान दिवस तथा राष्ट्रिय दिवस–२०८३ को मूल समारोहलाई आज सम्बोधन गर्दै प्रधानमन्त्री शाहले संविधानले परिकल्पना गरेको सुशासन, विकास, समृद्धि र सामाजिक न्यायको लक्ष्य व्यवहारमै कार्यान्वयन गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभएको हो।
‘यो संविधानले नेपाली जनतासँग एउटा वाचा गरेको छ – विविधताबीचको एकता , सबै प्रकारका विभेद र असमानताको अन्त्य र विकास , समृद्धि एवम् सामाजिक न्यायका आधारमा समतामूलक समाजको निर्माण, प्रतिस्पर्धात्मक बहुदलीय लोकतन्त्र , मानव अधिकार र कानूनी राज्य – यी हाम्रा लागि सर्तहरू होइनन् , यी हाम्रो राष्ट्रिय जीवनको आधार हुन्, यो संविधानको अक्षर र भावना , दुवैप्रति यो सरकार पूर्णरूपमा प्रतिबद्ध छ’, उहाँले भन्नुभयाे ।
प्रधानमन्त्री शाहले संविधानलाई केवल दस्तावेजका रूपमा नभई राष्ट्रिय जीवनको आधारका रूपमा ग्रहण गर्नुपर्ने धारणा राख्नुभयो। उहाँले प्रतिस्पर्धात्मक बहुदलीय लोकतन्त्र, मानव अधिकार र कानुनी शासनलाई कुनै सर्त नभई मुलुकको आधारभूत मूल्यका रूपमा व्याख्या गर्नुभयो। “संविधान जति राम्रो भए पनि, त्यसलाई चलाउने हात इमानदार र अनवरत क्रियाशील भएनन् भने त्यो कागजको खोस्टो बन्छ,” प्रधानमन्त्री शाहले भन्नुभयो।
उहाँले वर्तमान सरकार संविधानको अक्षर र भावनाप्रति पूर्ण रूपमा प्रतिबद्ध रहेको उल्लेख गर्दै सुशासनलाई नारामा मात्र सीमित नगरी व्यवहारमा कार्यान्वयन गरिरहेको दाबी गर्नुभयो।
प्रधानमन्त्री शाहले भ्रष्टाचार र दण्डहीनताको जरा गहिरो भए पनि त्यसविरुद्ध काम गर्ने शक्ति बलियो हुँदै गएको बताउनुभयो। उहाँका अनुसार सरकारले प्रशासनिक संरचनाको उपयुक्त आकार निर्धारण, भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता, प्रशासनयन्त्रमा राजनीतिक तटस्थता तथा सरकारी र सार्वजनिक पदमा योग्यतामा आधारित नियुक्ति प्रक्रियालाई प्राथमिकता दिएको छ। “सुशासन नारा होइन, काम हो र हामी काम गरिरहेका छौँ,” उहाँले भन्नुभयो।
प्रधानमन्त्री शाहले संघ, प्रदेश र स्थानीय तहबीच सहकारिता, सहअस्तित्व र समन्वयका आधारमा राष्ट्र विकासको साझा उद्देश्य हासिल गर्न संघीय सरकार प्रतिबद्ध रहेको पनि बताउनुभयो। उहाँले अब मुलुक पुरानै विकासको बाटोमा मात्र अघि नबढ्ने बताउँदै कृत्रिम बुद्धिमत्ता, डिजिटल प्रविधि, साइबर सुरक्षा, नवप्रवर्तन र स्टार्टअपलाई प्राथमिकतामा राखेर ज्ञानमा आधारित अर्थतन्त्र निर्माण गरिने जानकारी दिनुभयो। “युवाले सडकमा मागेको सुशासन हामी प्रविधिबाट पनि सुनिश्चित गर्छौँ,” प्रधानमन्त्री शाहले भन्नुभयो।
प्रधानमन्त्री शाहले हालैको रसुवा–भोटेकोशी बाढीबाट भएको जनधनको क्षति अकल्पनीय र अपूरणीय रहेको बताउनुभयो। बाढीमा परी ज्यान गुमाएका स्वदेशी तथा विदेशी नागरिकप्रति श्रद्धाञ्जली व्यक्त गर्दै उहाँले शोकसन्तप्त परिवारजनप्रति समवेदना तथा घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्नुभयो। विपद्को समयमा उद्धार तथा राहत कार्यमा सहयोग गर्ने मित्रराष्ट्र, अन्तर्राष्ट्रिय समुदाय, संघसंस्था, निजी क्षेत्र, राष्ट्रसेवक कर्मचारी, आम नागरिक तथा देशवासीप्रति प्रधानमन्त्री शाहले विशेष आभार व्यक्त गर्नुभयो।
विपद् आएपछि मात्रै प्रतिक्रिया दिनेभन्दा जोखिम न्यूनीकरण र पूर्वतयारीमा सरकारले जोड दिने उहाँको भनाइ छ। “नेपाल विश्वका उच्च विपद् जोखिम भएका मुलुकको सूचीमा छ, यो तथ्यलाई हामी विपद् आइसकेपछि होइन, आउनुअघि नै सामना गर्छौँ,” प्रधानमन्त्री शाहले भन्नुभयो।
उहाँले विपद् जोखिम न्यूनीकरण, पूर्वतयारी र प्रतिकार्यलाई प्रभावकारी बनाउँदै विपद्को पूर्वसूचना प्रणालीलाई सर्वोच्च प्राथमिकताका साथ कार्यान्वयनमा ल्याइने बताउनुभयो।
प्रधानमन्त्री शाहले संविधान दिवस हरेक वर्ष आउने भए पनि संविधानले परिकल्पना गरेको व्यवस्था र जनआकांक्षा पूर्ण रूपमा कार्यान्वयन हुने दिन आफैँले निर्माण गर्नुपर्ने बताउनुभयो ।उहाँले नागरिकले सुशासन, विकास, समृद्धि र सामाजिक न्यायको माग गरिरहेको उल्लेख गर्दै सरकारका हरेक कदम ती आकांक्षा पूरा गर्ने दिशामा केन्द्रित रहने प्रतिबद्धता जनाउनुभयो। “संविधान जारी भएको दिन हरेक वर्ष आउँछ तर संविधान पूरा हुने दिन हामीले आफैँ ल्याउनुपर्छ-हरेक इमानदार निर्णयबाट, हरेक पारदर्शी नियुक्तिबाट, नागरिकको घरदैलोमा पुग्ने हरेक सेवाबाट,” प्रधानमन्त्री शाहले भन्नुभयो।
उहाँले संविधानप्रतिको निष्ठा र त्यसको पालनामा सरकार पूर्ण प्रतिबद्ध रहेको दोहोर्याउँदै शहीदहरूको बलिदानबाट प्राप्त संविधानलाई व्यवहारिक रूपमा कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। “शहीदहरूको रगतले लेखेको संविधान, हामी कामले पूरा गर्छौँ,” प्रधानमन्त्री शाहले सम्बोधनको क्रममा भन्नुभयो।












प्रतिक्रिया दिनुहोस्