काठमाडौं, असोज ३ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको १५औँ महाधिवेशनलाई आन्तरिक तिक्तता र विभाजन बढाउने नभई आपसमा नमिलेका मन मिलाउने अवसरका रूपमा उपयोग गर्नुपर्ने बताउनुभएको छ।
संविधान दिवसका अवसरमा शनिबार शुभकामना सन्देश जारी गर्दै सभापति थापाले कांग्रेसको महाधिवेशनले पार्टीभित्रको पुरानो असमझदारी र तिक्तता अन्त्य गर्दै एकताको नयाँ आधार निर्माण गर्नुपर्ने धारणा राख्नुभएको हो।
उहाँले महाधिवेशनका क्रममा विगतका विवादलाई निरन्तरता दिनुभन्दा पार्टीलाई थप एकताबद्ध बनाउनेतर्फ सबैको ध्यान केन्द्रित हुनुपर्ने बताउनुभयो। “महाधिवेशन हाम्रा बीचका नमिलेका मन मिलाउने सन्दर्भका निम्ति प्रयोग हुनुपर्छ । यसलाई थप फाटो बढाउने अवस्था निर्माण गर्नु हुँदैन,” सभापति थापाले भन्नुभएको छ।
सभापति थापाले पार्टीको वडा अधिवेशनदेखि नै विगतका विवाद र असमझदारीलाई बिर्सेर नयाँ ढंगबाट अघि बढ्न नेता तथा कार्यकर्तालाई आग्रह गर्नुभएको छ। “हिजो के भएको थियो भन्ने कुरालाई हामीले वडा अधिवेशनका क्रममा बिर्सिनुपर्छ,” उहाँले भन्नुभएको छ।
उहाँका अनुसार महाधिवेशन नेतृत्व चयन गर्ने औपचारिक प्रक्रिया मात्रै नभई पार्टीभित्रको सम्बन्ध सुधार गर्ने र कांग्रेसलाई थप सुदृढ बनाउने महत्वपूर्ण अवसरसमेत हो। सभापति थापाले १५औँ महाधिवेशनबाट संविधानका आधारभूत मूल्य र मान्यताको संरक्षण गर्ने संकल्पसहित कांग्रेस अघि बढ्ने पनि बताउनुभएको छ। “नेपाली कांग्रेसले यो अधिवेशनबाट संकल्प गरेर आउनेछौँ । हामी संविधानका आधारभूत मूल्य र मान्यताहरूलाई जगेर्ना गर्नेछौँ,” उहाँले भन्नुभयो।
संविधानमा समयअनुकूल केही विषय परिवर्तन गर्नुपर्ने आवश्यकता रहेको उल्लेख गर्दै उहाँले संविधान संशोधनले संविधानका मूल मूल्य र मान्यतालाई खुम्च्याउने नभई थप विस्तार गर्नुपर्ने धारणा राख्नुभयो। “संविधानमा कतिपय कुराहरू बदल्नुपर्नेछ । जसले संविधानका मूल्य र मान्यताहरूलाई खुम्च्याउने होइन, थप विस्तार गर्नेछ,” सभापति थापाले भन्नुभयो, “हामी त्यो गर्ने साहस र त्यो गर्ने स्पष्टता बोकेर यो महाधिवेशनबाट आउनेछौँ।”
सभापति थापाको संविधान दिवस सन्देशमा पार्टीको १५औँ महाधिवेशनलाई आन्तरिक विवाद अन्त्य, आपसी सम्बन्ध सुधार र कांग्रेसलाई थप एकताबद्ध बनाउने अवसरका रूपमा उपयोग गर्नुपर्ने विषयलाई विशेष प्राथमिकता दिइएको छ।
उहाँले महाधिवेशनले पार्टीभित्र थप फाटो सिर्जना नगरी आपसी विश्वास र सहकार्यको वातावरण निर्माण गर्ने अपेक्षासमेत व्यक्त गर्नुभएको छ।












प्रतिक्रिया दिनुहोस्