काठमाडौं, असोज ३ । भदौ १० गते रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीपछि सम्पर्कविहीन भएका माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनाका ११ जनाको शव फेला पारी उद्धार गरिएको छ।
नेपाली सेनाका अनुसार आयोजनाका सम्पर्कविहीन व्यक्तिहरूको खोजीका क्रममा अडिट–३ टनेलभित्र जालीमा अल्झिएको तथा हिलोमा दबिएको अवस्थामा आज ११ वटा शव फेला परेका थिए। संयुक्त उद्धार टोलीले ती शवलाई आज टनेलबाट बाहिर निकालेको हो।
आयोजनाका प्रतिनिधिसहितको संयुक्त उद्धार टोलीले सम्पर्कविहीन व्यक्तिहरूको खोजी गर्ने क्रममा शव फेला पारेको नेपाली सेनाले जनाएको छ। सेनाले टनेलभित्र थप व्यक्तिहरू हुनसक्ने भएकाले खोज तथा उद्धार कार्यलाई निरन्तरता दिइरहेको जनाएको छ।
भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनामा कार्यरत धेरै मजदुर र कर्मचारीहरु सम्पर्कविहीन भएका थिए। बाढीपछि नेपाली सेनासहित सुरक्षा निकाय र आयोजनाका प्रतिनिधिहरूले उनीहरूको खोजी तथा उद्धार कार्य गर्दै आएका छन्।
नेपाली सेनाले आज दिउँसो १२ः३० बजे सार्वजनिक गरेको खोज तथा उद्धार अपडेटअनुसार अडिट–३ टनेलबाट ११ शव बाहिर निकालिएको हो। थप खोजी कार्य भने जारी रहेको छ।












प्रतिक्रिया दिनुहोस्