जनता टाइम्स

३ आश्विन २०८३, शनिबार २०:३५

केन्द्रीय कमिटीअघि एमालेले बोलायो कार्यदल र सचिवालय बैठक, कुरा नमिले निर्णयमा अल्पमत र बहुमत


काठमाडौं, असोज ३ । नेकपा (एमाले) को केन्द्रीय कमिटी बैठकअघि निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदल र केन्द्रीय सचिवालय बैठक बस्ने भएको छ ।

एमाले प्रचार विभाग प्रमुख निरज आचार्यका अनुसार निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको बैठक भाेलि बिहान ९ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्नेछ ।

यसअघि बसेको कार्यदल बैठकमा दुईवटा छुट्टाछुट्टै प्रतिवेदन प्रस्तुत भएकाले ती प्रतिवेदनलाई समेटेर एउटै प्रतिवेदन तयार गर्ने उद्देश्यले बैठक बोलाइएको हो । कार्यदलको बैठकबाट प्रतिवेदनबारे आवश्यक समझदारी कायम गरी निष्कर्षमा पुग्ने तयारी गरिएको छ ।

कार्यदलको बैठक सम्पन्न भएपछि  दिउँसो १ बजे केन्द्रीय सचिवालयको बैठक पनि पार्टी कार्यालय च्यासलमै बस्नेछ । कार्यदलमा प्रतिवेदनका विषयमा यसअघि समझदारी बन्न नसकेकाले आगामी बैठकबाट कस्तो निष्कर्ष निस्कन्छ भन्ने विषयमा एमाले नेता तथा कार्यकर्तामाझ चासो बढेको छ ।

कार्यदल र सचिवालय बैठकपछि एमाले केन्द्रीय कमिटीको बैठक असोज ५, ६ र ७ गते बस्ने तालिका तय भएको छ । प्रचार विभाग प्रमुख आचार्यका अनुसार केन्द्रीय कमिटी बैठक ललितपुरको भैँसेपाटीस्थित रामबाग महलमा बस्नेछ ।

केन्द्रीय कमिटी बैठकमा पेश गरिने प्रतिवेदन पार्टी अध्यक्ष केपी शर्मा ओलीले तयार गर्ने बताइएको छ । बैठकमा निर्वाचन समीक्षा, पार्टी पुनर्गठनलगायतका विषयमा छलफल हुने छ ।

केन्द्रीय कमिटी बैठकअघि बोलाइएको कार्यदल र सचिवालयको बैठकमा सहमति नभए केन्द्रीय कमिटीले बहुमतको आाधारमा निर्णय लिने देखिएको छ । एमाले बिधानअनुसार अध्यक्ष फेर्नेबाहेक अन्य बिषयमा बहुमतले निर्णय लिनसक्ने ब्यवस्था छ । अध्यक्षको हकमा भने राजीनामा वा महाधिवेशनबाट बाहेक अन्य कुनै बिधिबाट पनि हटाउन सक्ने ब्यवस्था बिधानमा छैन ।