काठमाडौं, असोज ३ । नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशनअन्तर्गत वडा अधिवेशन प्रक्रिया आजदेखि सुरु भएको छ । केन्द्रीय निर्वाचन समितिका अनुसार पहिलो दिन ४३ जिल्लाका ३ हजार ३ सय ९६ वडामा अधिवेशन सम्पन्न भएको छ ।
नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको निर्णयअनुसार आगामी असोज १६ देखि १९ गतेसम्म १५औँ केन्द्रीय महाधिवेशन हुँदैछ । सोही महाधिवेशनअन्तर्गत आजदेखि वडा अधिवेशन प्रक्रिया सुरु गरिएको हो ।
केन्द्रीय निर्वाचन समितिले जारी गरेको प्रेस विज्ञप्तिअनुसार ताप्लेजुङ, पाँचथर, संखुवासभा, धनकुटा, सोलुखुम्बु, उदयपुर, झापा, मोरङ, महोत्तरी, रामेछाप, काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, चितवन, भक्तपुर, ललितपुर, काठमाडौं, गोरखा, कास्की, मनाङ, पर्वत, स्याङ्जा, बागलुङ, नवलपुर, पाल्पा, अर्घाखाँची, गुल्मी, रुकुम पूर्व, रोल्पा, प्युठान, रुकुम पश्चिम, डोल्पा, जुम्ला, मुगु, हुम्ला, जाजरकोट, दैलेख, सुर्खेत, डोटी, अछाम, दार्चुला, बैतडी, कञ्चनपुर र कैलालीका वडामा अधिवेशन सम्पन्न भएको हो ।
वडा अधिवेशनबाट वडा कार्यसमिति तथा क्षेत्रीय प्रतिनिधि चयन गरिएको केन्द्रीय निर्वाचन समितिले जनाएको छ ।
समितिका अनुसार रसुवा, नुवाकोट र धादिङबाहेक अन्य ३१ जिल्लामा वडा अधिवेशन भोलि हुनेछ ।
केन्द्रीय निर्वाचन समितिका सदस्य–सचिव राजु कटुवालले जारी गरेको विज्ञप्तिमा कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत निर्वाचन कार्यक्रम निर्धारित कार्यतालिकाअनुसार अघि बढिरहेको जनाइएको छ ।












प्रतिक्रिया दिनुहोस्