काठमाडौं, असोज ४ । नेकपा एमालेका सचिव महेश बस्नेतले पार्टी पुनर्गठन कार्यदलले एकीकृत प्रतिवेदन तयार गरेको र अध्यक्षको राजीनामा माग्ने वा हटाउने विषय नउठाउने सहमति भएको दाबी गर्नुभएको छ ।
आइतबार बसेको कार्यदलको बैठकले उपाध्यक्ष रामबहादुर थापा र महासचिव शंकर पोखरेलका प्रतिवेदन तथा बैठकमा सदस्यहरूले दिएका सुझाव समेटेर एकीकृत प्रतिवेदन तयार गरेको उहाँले बताउनुभएको छ । प्रतिवेदन पार्टी सचिवालय हुँदै सोमबारदेखि सुरु हुने केन्द्रीय कमिटी बैठकमा पेस गरिने उहाँले जानकारी दिनुभएको छ ।
बस्नेतका अनुसार कार्यदलमा अध्यक्षको राजीनामा माग्ने वा अध्यक्षलाई हटाउने विषय अब नउठाउने तथा अध्यक्षको आलोचना नगर्ने सहमति भएको छ । उहाँले अध्यक्षको राजीनामा माग्ने विषयलाई भ्रामक भएको दाबी गर्नुभएको छ ।
यस्तै, राष्ट्रिय प्रतिनिधि परिषद्को बैठक पार्टीको एकता प्रदर्शन गर्ने गरी बोलाउने सहमति भएको उहाँले बताउनुभएको छ । वर्तमान सरकारको कार्यशैलीविरुद्ध राजनीतिक गतिविधि अघि बढाउने विषयमा पनि बैठकमा सहमति भएको उहाँको भनाइ छ ।
बस्नेतले तत्काल विशेष महाधिवेशन वा विशेष विधान अधिवेशन बोलाउने विषयमा सहमति नभएको पनि बताउनुभएको छ । नियमित महाधिवेशनमा नेतृत्व परिवर्तनको विषय स्वाभाविक रूपमा आउने र विधान महाधिवेशनमा विगतका निर्णयमाथि छलफल गरेर निष्कर्षमा पुग्न सकिने उहाँले बताउनुभएको छ ।
कार्यदलको प्रतिवेदनमा विभिन्न १३ समूहबाट आएका सुझाव समेटिने उहाँले जानकारी दिनुभएको छ । अध्यक्षले राजीनामा दिनुपर्ने लगायतका विषय भने प्रतिवेदनमा समावेश नगरिने उहाँको दाबी छ ।












प्रतिक्रिया दिनुहोस्