काठमाडौं, असोज ४ । नेपाली कांग्रेसको १५ औं केन्द्रीय महाधिवेशनअन्तर्गत वडा अधिवेशन प्रक्रिया दोस्रो दिन पनि उत्साहप्रद रूपमा अघि बढेको छ । नेपाली कांग्रेस केन्द्रीय निर्वाचन समितिका अनुसार आइतबारसम्म ७३ जिल्लाका ६ हजार १३२ वडामा अधिवेशनपश्चात् निर्वाचन सम्पन्न भएको छ ।
नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको निर्णयअनुसार आगामी असोज १६ देखि १९ गतेसम्म १५ औं केन्द्रीय महाधिवेशन हुँदैछ । त्यसअन्तर्गत असोज ३ गतेदेखि वडा अधिवेशन प्रक्रिया सुरु भएको हो ।
केन्द्रीय निर्वाचन समितिका सदस्य सचिव राजु कटुवालका अनुसार ताप्लेजुङदेखि कञ्चनपुर र कैलालीसम्मका ७३ जिल्लाका विभिन्न वडामा वडा कार्यसमिति तथा क्षेत्रीय प्रतिनिधि चयन गर्ने प्रक्रिया सम्पन्न भएको छ ।
समितिका अनुसार कोशी प्रदेशका ताप्लेजुङ, पाँचथर, इलाम, संखुवासभा, तेह्रथुम, धनकुटा, भोजपुर, खोटाङ, सोलुखुम्बु, ओखलढुंगा, उदयपुर, झापा, मोरङ र सुनसरीलगायत जिल्लामा अधिवेशन सम्पन्न भएको छ । यस्तै मधेश, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका अधिकांश जिल्लाका वडामा पनि अधिवेशन तथा निर्वाचन सम्पन्न भएको समितिले जनाएको छ ।
केन्द्रीय निर्वाचन समितिका अनुसार रसुवा, नुवाकोट र धादिङ जिल्ला तथा सप्तरी क्षेत्र नं. २ र ४, सिरहा, मोरङ क्षेत्र नं. ६, रौतहट क्षेत्र नं. १, सर्लाही क्षेत्र नं. २ र परासी क्षेत्र नं. २ लगायतका क्षेत्रमा भने वडा अधिवेशन सम्पन्न हुन बाँकी छ ।
त्यस्तै, असोज ४ गते सम्पन्न हुन छुट भएका सम्पूर्ण वडा अधिवेशनसहित बाँकी वडा अधिवेशन प्रक्रिया असोज ५ गते सोमबार पनि निरन्तर सञ्चालन हुने समितिले जनाएको छ ।
समितिले केन्द्रीय निर्वाचन समितिबाट प्रकाशित निर्वाचन कार्यतालिकाअनुसार सम्बन्धित जिल्लाका बाँकी वडा अधिवेशन सम्पन्न गरिने जानकारी गराएको छ ।












प्रतिक्रिया दिनुहोस्