काठमाडौं, असोज ४ । रसुवामा भोटेकोसी बाढीपछि खोज तथा उद्धारका क्रममा माथिल्लो त्रिशूली–१ आयोजनाको अडिट–३ टनेलमा फेला परेका १३ वटा शव हेलिकप्टरमार्फत त्रिशूली ल्याइएको छ ।
नेपाली सेनाका अनुसार अडिट–३ टनेलमा खोज तथा उद्धारका क्रममा ती शव फेला परेका हुन् । फेला परेका शवलाई हेलिकप्टरमार्फत त्रिशूली ल्याई थप व्यवस्थापनको प्रक्रिया अघि बढाइएको छ ।
सेनाले टनेल क्षेत्रमा अझै खोजी कार्य जारी रहेको जनाएको छ । बाढीपछि हराइरहेका तथा प्रभावित व्यक्तिको खोजीका लागि सुरक्षाकर्मी र आयोजनासँग सम्बन्धित टोलीले विभिन्न क्षेत्रमा खोज तथा उद्धार कार्यलाई निरन्तरता दिइरहेका छन् ।
यसैबिच, नेपाली सेनाले रसुवा र नुवाकोटका प्रभावित क्षेत्रमा खोज तथा उद्धारका लागि ठुलो सङ्ख्यामा जनशक्ति परिचालन गरेको छ । सेनाका अनुसार टिमुरेदेखि नुवाकोट, धादिङ, चितवन तथा नवलपरासी पूर्व र पश्चिमका प्रभावित क्षेत्रसम्म ८ हजार ७ सयभन्दा बढी फौज प्रत्यक्ष रूपमा परिचालन भएका छन् ।
भोटेकोसी बाढीपछि विभिन्न प्रभावित क्षेत्रबाट नेपाली सेनाले हवाई साधनमार्फत हालसम्म ४ हजार २२० जनाको उद्धार गरिसकेको जनाएको छ । उद्धार गरिएकामध्ये ३ हजार ९३७ जना नेपाली र २८३ जना विदेशी नागरिक रहेका छन् ।
सेनाले माथिल्लो त्रिशूली–१ सहित त्रिशूली–३ ए र त्रिशूली–३ बी आयोजनाका टनेल तथा पावर हाउस क्षेत्रमा समेत खोजी कार्य गरिरहेको जनाएको छ । खोज तथा उद्धारका क्रममा आवश्यक उपकरण र एक्साभेटर प्रयोग गरी प्रभावित क्षेत्रमा उत्खननसमेत भइरहेको छ ।
नेपाली सेनाले प्रभावित क्षेत्रमा शव व्यवस्थापन, राहत सामग्री ढुवानी, स्वास्थ्य सेवा तथा अवरुद्ध सडक र पुल सञ्चालनमा ल्याउने कार्यलाई समेत निरन्तरता दिइरहेको जनाएको छ ।
गत भदौ १० गते भाेटेकाेशीमा आएको बाढीले रसुवा, नुवाकोट, धादिङ तथा चितवनसम्म ठुलो जनधनको क्षति गरेको छ । क्षतिको यकिन तथ्याङ्क अझै निस्कन सकेको छैन ।












प्रतिक्रिया दिनुहोस्