जनता टाइम्स

५ आश्विन २०८३, सोमबार ०८:२१

भोटेकोसी बाढीमा मृत्यु हुनेको संख्या १ हजार ४ सय ५१ पुग्यो


काठमाडौं, असोज ५ । रसुवाको भोटेकोसी नदीमा गत भदौ १० गते आएको विनाशकारी बाढीमा परी ज्यान गुमाउनेमध्ये अहिलेसम्म १ हजार ४ सय ५१ जनाको शव फेला परेको छ।

नेपाल प्रहरीले सार्वजनिक गरेको विवरणअनुसार रसुवामा २ सय ३६, नुवाकोटमा २ सय ३, धादिङमा ७२, चितवनमा ३ सय ६७, गोरखामा ७९, तनहुँमा ३८, नवलपरासी पूर्वमा २ सय ३२ र नवलपरासी पश्चिममा २ सय २२ जनाको शव फेला परेको छ। यसरी विभिन्न जिल्लाबाट १ हजार ४ सय ४९ जनाको शव फेला परेको प्रहरीले जनाएको छ।

त्यसैगरी, बाढीमा घाइते भई काठमाडौंमा उपचाररत दुई जनाको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। यससँगै बाढीमा परी मृत्यु हुनेको संख्या १ हजार ४ सय ५१ पुगेको हो।

प्रहरीका अनुसार फेला परेका शवको पहिचानका लागि डीएनए नमुना सङ्कलनलगायत आवश्यक प्रक्रिया पूरा गरी हालसम्म १ हजार २ सय ९२ वटा शव व्यवस्थापन (माटोमुनि सुरक्षित) गरिएको छ।

शव पहिचानका लागि मृतकका १ हजार २ सय ८६ तथा आफन्तका १ हजार ९ सय ९७ गरी कुल ३ हजार २ सय ८३ वटा डीएनए नमुना सङ्कलन गरिएको प्रहरीले जनाएको छ।

भोटेकोसी बाढीपछि बेपत्ताको खोजी, शव पहिचान तथा व्यवस्थापनका लागि सुरक्षा निकायले निरन्तर खोज तथा उद्धार कार्य अघि बढाइरहेका छन्।