काठमाडौं, असोज ५ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले निर्वाचन समीक्षा तथा पार्टी पुनर्जागरण कार्यदलले तयार पारेको प्रतिवेदन पार्टीको महत्वपूर्ण सम्पत्ति भएको बताउनुभएको छ।
उहाँले कार्यदलले प्रतिवेदन बुझाउन केही ढिलाइ गरेका कारण पार्टीका बैठकहरू पनि प्रभावित भएको बताउनुभयो। निर्वाचनको समीक्षा तथा पार्टी पुनर्जागरणका विषयमा सुझावसहितको प्रतिवेदन तयार गर्न गठित कार्यदलले तोकिएको समयभन्दा ढिलो गरी काम सम्पन्न गरेको उहाँको भनाइ थियो।
“हामी कार्यदल बनाउनतिर लाग्यौँ। त्यो कति उपयुक्त गर्यौँ, गरेनौँ, अहिले त्यसको धेरै समीक्षामा पनि नजाऔँ। त्यो बनाइसक्यौँ। त्यसले अलिक विलम्ब गरी काम गर्यो। एक महिनाको समय भनेको चार महिनाको समय गुज्रियो,” अध्यक्ष ओलीले भन्नुभयो।
उहाँले कार्यदलको प्रतिवेदन प्राप्त नभएसम्म पार्टीको सचिवालय बैठक बस्न नसक्ने र सचिवालय बैठकपछि मात्र केन्द्रीय कमिटी बैठक बस्नु उपयुक्त हुने भएकाले बैठकहरूमा ढिलाइ भएको स्पष्ट पार्नुभयो। “कार्यदलकै बैठक चलेको छ, कार्यदलकै काम सकिएको छैन, कार्यदलकै प्रतिवेदन आएको छैन। कार्यदलको प्रतिवेदन बिना सचिवालय बस्न सक्दैन। सचिवालय नबसीकन केन्द्रीय कमिटी बस्न त्यति उपयुक्त हुँदैन भन्ने कुराले विलम्ब हुँदै गयो,” उहाँले भन्नुभयो।
अध्यक्ष ओलीले कार्यदलले तयार पारेको प्रतिवेदन सचिवालयले पार्टीको सम्पत्तिका रूपमा सुरक्षित राखेको बताउनुभयो। उहाँका अनुसार सचिवालयले गठन गरेको र सचिवालयकै अधिकांश नेताहरू सहभागी रहेको कार्यदलले तयार पारेको प्रतिवेदन पार्टीका लागि महत्वपूर्ण दस्तावेज हो।
“हिजो बेलुका कार्यदलको प्रतिवेदन प्रस्तुत भयो। सचिवालयले बनाएको कार्यदल र सचिवालयकै अधिकांश नेताहरू बसेर बनाएको कार्यदल भएको हुनाले, त्यो सचिवालयकै सम्पत्ति थियो। कार्यदल सचिवालयले बुझ्यो र एउटा सम्पत्तिको रूपमा राख्यो,” अध्यक्ष ओलीले भन्नुभयो।
उहाँले कार्यदलको प्रतिवेदनलाई समेत ध्यानमा राखेर आफूले आफ्नो प्रतिवेदन तयार पारेको जानकारी दिनुभयो।












प्रतिक्रिया दिनुहोस्