जनता टाइम्स

५ आश्विन २०८३, सोमबार १४:४२

एमाले केन्द्रीय कमिटी बैठकमा अध्यक्ष ओलीको प्रश्न : मिडियामा गएर खुलेआम अध्यक्ष हटाउनुपर्छ भन्ने न्यायाधीश को ?


काठमाडौं, असोज ५ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्रका विषय र असन्तुष्टिलाई पार्टीकै कमिटीमा छलफल गर्नुपर्ने बताउनुभएको छ। उहाँले पार्टी र नेतृत्वविरुद्ध सार्वजनिक रूपमा अभिव्यक्ति दिने केही नेताप्रति असन्तुष्टि व्यक्त गर्नुभएको छ।

आजदेखि सुरु भएको एमाले केन्द्रीय कमिटीको बैठकमा सम्बोधन गर्दै अध्यक्ष ओलीले ‘अध्यक्षको औचित्य सकियो’, ‘अब राजीनामा दिनुपर्छ’ भन्नेजस्ता सार्वजनिक अभिव्यक्ति आपत्तिजनक भएको बताउनुभयो।

पार्टी र नेतृत्वमाथि हमला भइरहेको अवस्थामा सबै एकजुट भएर अघि बढ्नुपर्नेमा पार्टीभित्रबाट समस्या सिर्जना गर्ने काम भएको उहाँको भनाइ थियो।

“हामीमाथि भएको हमलाको प्रतिकार गर्न एकजुट भएर अगाडि बढ्नुपर्थ्यो। तर, पार्टीभित्रै केही व्यक्ति र तत्त्वहरू पार्टीभित्र समस्या सिर्जना गर्न उद्यत भए। समस्याको सिर्जना हुन थाले,” अध्यक्ष ओलीले भन्नुभयो।

उहाँले पार्टीभित्रका विषय कमिटीमै छलफल गर्न सकिने भए पनि मिडियामार्फत नेतृत्व परिवर्तनको माग गर्नु उचित नभएको बताउनुभयो।

“पार्टीभित्रको बहस पार्टीभित्र, कमिटीभित्र छलफल हुन सक्थ्यो, तर मिडियामा गएर खुलेआम अध्यक्ष हटाउनुपर्छ, असान्दर्भिक भयो, यस्ता कुराहरू बोल्ने को न्यायाधीश ?” उहाँले प्रश्न गर्नुभयो।

अध्यक्ष ओलीले पार्टीमा रहेका नेताहरूलाई आफ्ना असन्तुष्टि, विचार तथा धारणा पार्टीका सम्बन्धित कमिटीमा राख्न आग्रह गर्नुभयो। पार्टीका विषय बाहिर लगेर सार्वजनिक अभिव्यक्ति दिँदा पार्टीको प्रतिष्ठामा असर पर्ने र विपक्षीको मनोबल बढ्ने उहाँको भनाइ थियो।

“तपाईँ पार्टीमा हुनुहुन्छ भने पार्टीभित्र छलफल गर्नुस्, कमिटीमा छलफल गर्नुस्, राय राख्नुस्। तर बाहिर गएर जग हँसाउने, पार्टीको प्रतिष्ठा कमजोर पार्ने, विपक्षीको मनोबल उठाउने, विपक्षीलाई खुसी बनाउने यस प्रकारका क्रियाकलापहरू हुनु हुँदैन,” अध्यक्ष ओलीले भन्नुभयो।

उहाँले पार्टीभित्र देखिएको अराजकतालाई नियन्त्रण गर्दै एमालेलाई अनुशासित र एकताबद्ध बनाएर अघि बढाउनुपर्ने अवस्था सिर्जना भएको बताउनुभयो।

उहाँले राष्ट्रियताको पहरेदार भएकै कारण एमाले माथि हमला भएको बताउनुभयो । एमाले माथि अनेक आरोप लगाउने र भौतिक संरचनामा क्षति पुर्‍याउने काम भएको उहाँको भनाइ छ । उहाँले बिना आरोप  र बिना कारण विशेष पुर्जीको किर्ते कागज बनाएर आफूलाई पक्राउ गरिएको र १३ दिनसम्म हिरासतमा राखेर बिना कसुर मुद्दा चलाउने प्रयास भएको ओलीले बताउनुभयो ।