जनता टाइम्स

५ आश्विन २०८३, सोमबार १४:५४

एमाले केन्द्रीय कमिटी बैठक: नौवटा एजेण्डा माथि छलफल हुँदै


काठमाडौं, असोज ५ । नेकपा (एमाले)को केन्द्रीय कमिटीको तेस्रो बैठकमा विभिन्न नौवटा एजेण्डामाथि छलफल हुने भएको छ।

एमाले प्रचार तथा प्रकाशन विभाग प्रमुख नीरज आचार्यका अनुसार बैठकमा अध्यक्ष केपीको प्रतिवेदन प्रस्तुत गर्नेदेखि पार्टीका विभिन्न कमिटी तथा विभाग गठनसम्मका विषय एजेण्डमा समेटिएका छन्।

बैठकका एजेण्डामा अध्यक्षको प्रतिवेदन, केन्द्रीय कमिटीमा मनोनयन, विभागहरूको गठन, पोलिटब्युरो गठन, स्थायी कमिटी गठन, सल्लाहकार परिषद् गठन, ज्येष्ठ कम्युनिस्ट मञ्च गठन, अनुशासनसम्बन्धी विषय तथा समसामयिक प्रस्तावहरू रहेका छन्।

त्यस्तै, बैठकको माइन्युट लेखनका लागि उपाध्यक्षद्वय विष्णुप्रसाद पौडेल र गोकर्ण विष्ट तथा महासचिव शंकर पोखरेललाई जिम्मेवारी तोकिएको छ।

बैठकमा प्रस्तुत हुने विषयमा छलफलका क्रममा उठेका विषय समेटेर बहस नोट तयार गर्न उपमहासचिव योगेश भट्टराई, सचिव पद्मा अर्याल तथा केन्द्रीय सदस्यहरू सूर्य थापा, नीरज आचार्य र खिमलाल भट्टराई रहेको समिति बनाइएको छ।

एमाले केन्द्रीय कमिटीको तेस्रो बैठकले पार्टीको आगामी सांगठनिक संरचना, जिम्मेवारी बाँडफाँट तथा समसामयिक राजनीतिक विषयमा आवश्यक निर्णय गर्ने तयारी गरेको छ।