जनता टाइम्स

५ आश्विन २०८३, सोमबार १५:१२

एमाले केन्द्रीय कमिटी बैठक : बोल्न चाहने सबै सदस्यलाई तीन मिनेट समय, मोबाइल लैजान नपाइने


काठमाडौं, असोज ५ । नेकपा (एमाले)को केन्द्रीय कमिटी बैठकमा बोल्न चाहने सबै सदस्यलाई आफ्नो धारणा राख्ने अवसर दिइने भएको छ। प्रत्येक सदस्यलाई बोल्नका लागि तीन मिनेटको समय निर्धारण गरिएको छ।

आजदेखि सुरु भएको केन्द्रीय कमिटी बैठकको प्रारम्भमा सम्बोधन गर्दै एमाले अध्यक्ष केपी शर्मा ओलीले एक जना सदस्यलाई तीन मिनेटभन्दा बढी समय दिन नसकिने स्पष्ट पार्नुभएको हो। अध्यक्ष ओलीले निर्धारित समयमा आफ्ना सबै विषय राख्न नभ्याउने सदस्यले लिखित रूपमा धारणा पेस गर्न सक्ने जानकारी दिनुभयो। उहाँले केन्द्रीय सदस्यहरूको छलफल भने भोलिदेखि मात्रै सुरु हुने बताउनुभयो।

आफूले प्रस्तुत गरेको प्रतिवेदन लामो भएकाले सदस्यहरूलाई अध्ययनका लागि समय आवश्यक पर्ने भन्दै अध्यक्ष ओलीले आजको बैठक चाँडै टुंग्याइने र भोलिदेखि प्रतिवेदनमाथि छलफल सुरु हुने जानकारी दिनुभयो। उहाँले बैठकमा धारणा राख्दा विषय केन्द्रित भएर बोल्न पनि केन्द्रीय सदस्यहरूलाई आग्रह गर्नुभयो। एमाले केन्द्रीय कमिटी बैठक तीन दिनसम्म सञ्चालन हुने बताइएको छ।

यसैबीच, बैठकस्थलमा भोलिदेखि मोबाइल फोन लैजान नपाइने व्यवस्था गरिएको छ। बैठकमा भिडियो खिच्न, रेकर्ड गर्न तथा लाइभ गर्नसमेत नपाइने अध्यक्ष ओलीले स्पष्ट पार्नुभएको छ।

बैठकमा सहभागी सदस्यहरूले आफ्नो आसन छाड्दा तथा बोल्दा अध्यक्षको अनुमति लिनुपर्ने व्यवस्था गरिएको पनि उहाँले जानकारी दिनुभयो।