जनता टाइम्स

५ आश्विन २०८३, सोमबार १६:३८

केन्द्रीय कमिटी बैठकमा अध्यक्ष ओलीको प्रतिवेदन : एमाले हारेको छ तर हराएको छैन, मत घटेको छ तर ऐतिहासिक आवश्यकता समाप्त भएको छैन  


काठमाडौं, असोज ५। नेपाल कम्युनिष्ट पार्टी (एमाले) को केन्द्रीय कमिटीको तेस्रो बैठकमा अध्यक्ष केपी ओलीले अध्यक्षको प्रतिवेदन प्रस्तुत गर्नुभएको छ । 

आजबाट सुरु भएको केन्द्रीय कमिटी बैठकमा ओलीले निर्वाचन परिणाम, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिस्थिति र पार्टीको आगामी कार्यदिशाका विषयमा विस्तृत प्रतिवेदन प्रस्तुत गर्नुभएको हो । 

अध्यक्षले बैठकलाई सम्बोधन गर्नुहुँदै भन्नुभयो, “हामी केवल निर्वाचन परिणामको समीक्षा गर्न मात्र यहाँ उपस्थित भएका छैनौँ, यो बैठक आफ्नै मन, इतिहास, वर्तमान अवस्था र भविष्यसँगको गम्भीर संवाद हो। यसले कमजोरी पहिचान गर्दै सत्य छुट्याउने र भविष्यको बाटो तय गर्नेछ।”

निर्वाचन परिणाम र आन्तरिक कमजोरीको समीक्षा गर्दै उहाँले निर्वाचनमा बेहोर्नुपरेको पराजयको नैतिक जिम्मेवारी आफूले लिने बताउनुहुँदै अध्यक्षले भन्नुभयो, “पराजय केवल बाह्य घेराबन्दी र प्रहारको नतिजा मात्र होइन, हाम्रा आन्तरिक कमजोरीहरू पनि यसमा जिम्मेवार छन्।” उहाँले जनतासँगको प्रत्यक्ष संवादमा कमी आउनु, युवा पुस्ताको भावना समयमै बुझ्न नसक्नु तथा डिजिटल माध्यममा पार्टीको आवाज कमजोर रहनुजस्ता विषयलाई गम्भीरताका साथ स्वीकार गर्नुपर्नेमा जोड दिनुभयो।

साथै, सङ्कटको बेला मैदान छाड्नु नेतृत्वको धर्म नभएको स्पष्ट पार्नुहुँदै उहाँले आत्मसमीक्षा र सुधारका माध्यमबाट पार्टीलाई पुनः सङ्गठित र सुदृढ बनाइने विश्वास व्यक्त गर्नुभयो।

देशमा हालै घटेका विभिन्न घटनाक्रम र असंवैधानिक कदमहरूप्रति चिन्ता व्यक्त गर्नुहुँदै अध्यक्षले लोकतन्त्रमा व्यक्तिभन्दा विधि र प्रक्रिया ठुलो हुने उहाँले बताउनुभयो। उहाँका अनुसार, भीडको शक्ति वा हिंसात्मक माध्यमबाट सरकार ढाल्ने र संसद् विघटन गर्ने जस्ता कार्यले खतरनाक नजिर बसाल्ने र संविधानलाई कमजोर बनाउने खतरा रहन्छ।

“हामी मृतकहरूप्रति श्रद्धाञ्जली र घाइतेहरूप्रति संवेदना व्यक्त गर्दछौँ, तर हिंसालाई वैध राजनीतिक माध्यमका रूपमा कहिल्यै स्वीकार गर्न सकिँदैन,” अध्यक्षले भन्नुभयो। उहाँले निष्पक्ष छानबिनका नाममा राजनीतिक प्रतिशोध साध्य बनाउन नहुने चेतावनीसमेत दिनुभयो।

विश्व राजनीतिमा भइरहेका तीव्र परिवर्तन, भूराजनीतिक प्रतिस्पर्धा र बहुपक्षीय संस्थाहरूको कमजोर बन्दै गएको भूमिकाप्रति प्रतिवेदनमा चर्चा गरिएको छ। गाजा, युक्रेन तथा पश्चिम एसियामा जारी द्वन्द्व र सङ्कटप्रति चिन्ता व्यक्त गर्दै संयुक्त राष्ट्रसङ्घको बडापत्रका आधारमा विश्व शान्ति र न्यायका पक्षमा उभिनुपर्ने नीति प्रस्तुत गरिएको छ। जलवायु परिवर्तनका कारण नेपालजस्ता विकासशील राष्ट्रले बेहोर्नुपरेको अकल्पनीय क्षति र जलवायु न्यायको विषयलाई पार्टीले प्राथमिकताका साथ उठाउने प्रतिबद्धता जनाइएको छ।

पार्टीभित्र उठिरहेको पुनर्गठनको चर्चाबारे स्पष्ट पार्नुहुँदै अध्यक्षले इतिहासमा विगतमा भएका पुनर्गठनका प्रसङ्गहरू उल्लेख गर्नुभएको छ। उहाँका अनुसार, बिना तयारी वा लहडका भरमा गरिने नेतृत्व विस्थापन पुनर्गठन होइन एमालेले इतिहास, विचार र योगदानको जरालाई नसुकाई अनुभव र युवा ऊर्जाको सही संयोजन (रूपान्तरण, हस्तान्तरण र पुस्तान्तरण) मार्फत अघि बढ्ने नीति लिनुपर्नेमा जोड दिनुभएको छ । 

आगामी कार्यभार र पन्ध्र प्रमुख कामहरू 

ओलीले पार्टीलाई पुनः गतिशील र जनआधारित बनाउनका लागि मुख्य दुई कार्यभार— संविधान तथा लोकतान्त्रिक प्रणालीको रक्षा र आगामी निर्वाचनको व्यवस्थित तयारी तय गर्नुभएको छ । यी कार्यभार पूरा गर्नका लागि १५ प्रमुख कामहरू अगाडि सारिएका छन्: 

१. सत्य जनतासम्म पुर्‍याउने: ‘सत्य संवाद’, जनसुनुवाइ र घरदैलो कार्यक्रममार्फत यथार्थ जानकारी पुर्‍याउने। 

२. जनहितकेन्द्रित प्रतिपक्ष: महँगी, बेरोजगारी, किसान, मजदुर र सुकुम्वासीका मुद्दालाई दैनिक राजनीतिक एजेन्डा बनाउने। 

३. डिजिटल पुनर्निर्माण: तथ्यपूर्ण जवाफ र द्रुत सञ्चारका लागि केन्द्रीय संयन्त्र निर्माण गर्ने। 

४. परिणाममुखी सङ्गठन: कमिटीहरूको मूल्याङ्कन सदस्य सङ्ख्याका आधारमा नभई जनसेवाका आधारमा गर्ने। 

५. युवा नेतृत्वको वास्तविक निर्माण: युवाहरूलाई वास्तविक जिम्मेवारी र नीति निर्माणमा सहभागी गराउने। 

६. महिला र सामाजिक प्रतिनिधित्व: नीति, सङ्गठन र आन्दोलनमा समावेशी प्रतिनिधित्व सुनिश्चित गर्ने। 

७. खुला संवाद र अनुशासन: पार्टीभित्र स्वस्थ आलोचना सुन्ने तर बाह्य चरित्रहत्या र अराजकता नियन्त्रण गर्ने। 

८. वैकल्पिक शासन-खाका: रोजगारी, कृषि, शिक्षा, र भ्रष्टाचार नियन्त्रणका लागि ठोस विकल्प प्रस्तुत गर्ने। 

९. जनसेवामूलक पार्टी: विपद्, स्वास्थ्य शिविर र रोजगारी परामर्शमा पार्टी संरचनालाई सक्रिय बनाउने। 

१०. ज्ञानमा आधारित पार्टी: डेटा, अनुसन्धान र नीति विश्लेषणका आधारमा राजनीति सञ्चालन गर्ने। 

११. नैतिक पुनर्निर्माण: सादगीपन, पारदर्शिता र उच्च नैतिक आचरण स्थापित गर्ने। 

१२. स्थानीय मुद्दा केन्द्रित सङ्गठन: प्रत्येक वडा कमिटीले स्थानीय समस्याको सूची बनाएर समाधानमा लाग्ने। 

१३. प्रवासी नेपालीसँग नयाँ सम्बन्ध: प्रवासी नेपालीको सीप, ज्ञान र क्षमताको उपयोगका लागि विशेष नीति ल्याउने। 

१४. राष्ट्रिय स्वाधीनता र कूटनीति: छिमेकीसँग सन्तुलित र राष्ट्रिय हितमा आधारित कूटनीति सञ्चालन गर्ने। 

१५. परिवर्तनकारी पार्टी निर्माण: वैचारिक स्पष्टतासहित अनुशासित र कर्तव्यनिष्ठ कार्यकर्ता पार्टी निर्माण गर्ने।

‌ओलीले आफ्नो प्रतिवेदनमा लेख्नुभएको छ : “एमाले हारेको छ, तर हराएको छैन; मत घटेको छ, तर यसको ऐतिहासिक आवश्यकता समाप्त भएको छैन। पराजयलाई शिक्षामा, शिक्षालाई रूपान्तरणमा र रूपान्तरणलाई पुनर्जागरणमा बदल्दै हामी राष्ट्रिय विजयको आधार तयार गर्नेछौँ।”